१९ कार्तिक २०८३, बिहिबार

अझै हटेन खोलाको पानी खानुपर्ने बाध्यता

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, ४ बैशाख । जाजरकोटको भेरी नगरपालिका–१०, फेरा बजारका वासिन्दा १२ वर्षदेखि खोलाको पानी पिउन बाध्य छन् । खानेपानीका लागि कुनै पनि निकायबाट पहल नहुँदा उनीहरु खोला किनारमा खाल्डो खनेर पानी प्रयोग गरिरहेका छन् ।

तत्कालिन खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय जाजरकोटबाट विस्तृत सर्वेक्षण भई लागत डिजाइन र लागत अनुमान स्वीकृत भएपनि बजेट अभावले कुनै पनि काम हुन सकेको छैन ।

जसका कारण नगरपालिकाभित्रै रहेको छिन्चु–जाजरकोट सडकखण्डको छेउमा अवस्थित फेरा बजारका वासिन्दाहरु खोलाको दूषित पानी पिउनका लागि प्रयोग गर्न बाध्य छन् ।

वर्षा याममा हरेक दिन नयाँ ठाउँ खाल्डो खन्नु पर्ने, खनेको खाल्डोमा पनि धमिलो पानी आउने र त्यही पानी खानु पर्ने बाध्यता रहेको स्थानीय हिरेन्द्र बहादुर खत्रीले बताए ।

बगर खनेर बनाएको खाल्डोमा पशुपन्छी र कुकुर बस्ने गर्दा थप समस्या भएको छ । यस्तै, रातिको समयमा स्याल, फ्याउरा लगायत जंगली जनावरले दिसा गरेको भेटिने गरेको र त्यसलाई फालेर पानी खानका लागि प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय परिमल चन्दले दुःखेसो पोखे ।

पानीकै कारण बालबालिका र वृद्ध, वृद्धाहरु बिरामी पर्ने गरेका छन् । पानीकै कारण कुनै दिन ठूलो महामारी पो लाग्ने हो कि भन्ने स्थानीयको चिन्ता छ ।

७१ घरधुरी रहेको फेरा बजारमा ९२ परिवारका करिब ४ सय जनाको वसोवास छ ।