घोराही । मह सञ्चार प्रालि अर्थात ‘दालभात तरकारी’को टीमले उपन्यासकार सविन प्रियासनलाई आफ्नो टीमसँग जोडिएर काम गर्न अनुरोध गरेको छ ।
२०७५ सालमा तीन वटा उपन्यास निकालेका प्रियासनलाई दालभात तरकारी फिल्मका प्रस्तुत कर्ता किरण केसीले राम्रो कथा वस्तुसहितको फिल्म लेख्न अनुरोध गरेका हुन् । आफूहरु साथमा काम गर्न तयार रहेको बताएका थिए ।
चलचित्र पत्रकार संघले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोफसलमा बसेर कलासहित्यको क्षेत्रमा प्रियासनले खेलिरहेको भूमिकाको बारेमा थाहा पाएपछि वरिष्ठ कलाकार केसीले प्रियासनलाई यस्तो अग्रह गरेका हुन् ।
‘प्रियासनले धेरै राम्रा उपन्यासहरु निकाल्नु भएको रहेछ । उहाँले गिनिज बुकमै आफ्नो नाम लेखाउन सक्नु हुन्छ, राम्रो कथा वस्तु तयार पर्नुहोस्, हामी तपाईसँग मिलेर काम गर्नेछौ’, केसीले थप्नुभयो, ‘नेपाली सिने क्षेत्रमा क्षमतावान कलाकार, लेखकहरुको खाँचो छ ।’
कार्यक्रममा प्रियासनको तारिफ गर्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले लेखन क्षेत्रमा प्रियासन अनवरतरुपमा लागि परेकोमा प्रशंसा गरे ।
‘प्रियासनको कृतिहरू हेर्दा लाग्छ, उहाँ जतिबेला पनि लेखन कार्यमा लागि रहनुहुन्छ’, आचार्यको भनाइ थियो । उपन्यासकार प्रियासनले एकैवर्षमा तीनवटा उपन्यास प्रकाशन गरेका छन् ।
हालसम्म आठ वटा उपन्यास, प्रकाशन गरिसकेका प्रियासन गीत पनि लेख्छन् । उनले वैशाख महिनामै तीन वटा गीत भिडियोसहित निकाल्ने तयारी समेत गरेका छन् ।
मह सञ्चार जस्तो गरिमामय टीमले आफूलाई लेखन कार्यका लागि अफर गरेकोमा प्रियासन पनि खुशी छन् । हालसम्म उपन्यास लेखनमा व्यस्त प्रियासन अब फिलिमको कथा, पटककथा, सम्बाद, गीतहरु पनि लेख्ने मनसायमा पुगेको उनको भनाइ छ ।












प्रतिक्रिया