
काठमाडौं, २३ माघ । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरको कामको भन्दा पनि उनका विवादीत निर्णय र बयानको चर्चा ज्यादा हुने गरेको छ ।
उनी आफैं कति विवादीत निर्णय गर्छिन् त्योचाहिँ उनैलाई थाहा होला तर बजारमा उनकै दलका कतिपय कार्यकर्ता र सर्वसाधारणले मन्त्री बनेपछि हुने गरेका निर्णयको तिव्र आलोचना गरेकै छन् ।
मन्त्री मगर विवादमा आउने ५ कारण यस्ता छन् ।
१.विवादीत मानिसहरूको सल्लाहमा चल्दा आफूले गरेका त्रुटी सच्याउने काममा लाग्नुको साटो त्यसलाई ढाकछोप गर्न बढी उद्दत देखिइन् । लागेका आरोपको खण्डन काममा भन्दा पनि विज्ञप्ति र बयानबाजीमा गरेका कारण उनी विवादमा आउने गरेकी हुन् ।
२.आफूले सम्हालेको मन्त्रालयमा कर्मचारी स्थानान्तरणमा मनोपोली गरेको, आफैंले तयार पारेको निजी सचिवालयका कतिपय सदस्यलाई हटाउने तथा कर्मचारीको सुझाव भन्दा पनि केही सीमित व्यक्तिको सुझावमा चल्नु पनि उनको कमजोरी रह्यो । त्यसैले उनले ल्याएका तत्कालिन सचिव गजेन्द्र ठाकुर तथा एक जना सह–सचिवले पनि उनको आलोचना गर्दै मिडियाबाजी गरेका थिए ।
३.पारिवारिक विषयमा पनि उनी विवादमा तानिएकी थिइन् । पती प्रकाश दाहालको पहिलो स्मृति सभाका बेला प्रकाशकी जेठी पत्नी सृजना त्रिपाठीमाथि गरेको सार्वजनिक व्यवाहार पनि उनको विवादको कारण बन्यो । त्यतिमात्र होइन, प्रकाशको स्मृतिग्रन्थमा त्रिपाठीको नाम बिनाले नै हटाएको भन्ने बजार हल्ला खुमलटारबाट नै बाहिर ल्याउनु पनि उनी विवादमा आउने कारण बन्यो ।
४. उनको काम गर्ने तौर तरिकामात्र विवादको चुरो कारण होइन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी भएकै कारण मन्त्री बन्ने मौका पाएको तर मन्त्री भएपछि आफूखुसी हिसाबमा काम गरेको भन्ने हल्ला चलाइएको छ । यसै पनि प्रचण्डको समर्थन र आलोचना हुँदा उनका काम गराईले पनि असर गरिरहेको बताइन्छ । यसको पुष्टि उनैले अख्तियारमा परेको उजुरीका सन्दर्भमा निकालेको विज्ञप्तिमा पनि उल्लेख गरेकी छन्– म र मेरा परिवारविरुद्ध प्रचारबाजी भयो ।
५. विरोधाभाष निर्णयका कारण पनि उनी विवादमा तानिएकी हुन् । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीसँग एकातिर ठेक्का रद्द गर्ने र अर्कातिर उसैलाई काम लगाउने भनी वार्ताका लागि सचिवालयका व्यक्ति विदेश पठाउने विषय पेचिलो बन्यो । अर्को, मन्त्रालयमा धेरै खर्च गरी हालै मात्र अर्थ मन्त्रालयसँग अरु रकम माग गरेका कारण पनि मन्त्री मगरको आलोचना भइरहेकै छ ।















प्रतिक्रिया