१९ कार्तिक २०८३, बिहिबार

संघ र प्रदेशबीच दूरी बढेको छैन, सम्बन्ध राम्रो छ : मुख्यमन्त्री राउत

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने जनाएका हुन् ।

उनले भने,‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजनामन्त्रीको संयोजकत्वमा बनेको पाँच सदस्यी समितिले पनि त्यही कुरा सिफारिश गरेको छ । हामी सहयोग गर्न तयार छौं ।’

साक्षात्कारमा बोल्दै उनले सिँगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहेको विश्वास दिलाए । उनले भने,‘प्रदेश सरकार पीडितहरुको दुःखमा साथमै छ । हामी घरदैलो गरिरहेका छौं । उहाँहरुको पीडा कम गर्न लागिरहेका छौं ।’ प्रदेश सरकार पीडितहरुको दुःख कम गर्नको लागि जिम्मेवार ढंगले लागिरहेको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले घट्ना घटेकै दिन स्थानीय नेता तथा कार्यकर्ता, गाउँपालिका प्रमुख, प्रदेश सरकार घट्नास्थल पुगेको पनि जनाए । उनले भने,‘विहान ७ बजे नै प्रदेश सरकारको मन्त्रिपरिषद बैठक बसेर उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको थियो । र, घाईतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।’ घाईतेहरुको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने उनले जनाए ।

राउतले घट्नास्थलको दृश्य दर्दनाक रहेको बताउँदै त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाउने बताए । उक्त घट्नामा संघीय सरकारले खासगरी प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रीहरु, मुख्य सचिवलगायतका जिम्मेवार निकायका व्यक्तिहरुले विशेष चासो देखाएको र उद्धार र राहतमा कुनै कमी आउन नदिनेगरि काम गरेको उनले सुनाए ।

पीडित परिवारलाई राहत जाने काम भैरहेको र अहिले टोल टोलमा टेन्ट लगाईएकोपनि उनले स्पष्ट पारे । राहतको कुनै समस्या नरहेको उनको दाबी छ ।

फरक प्रसँगमा उनले संघीय सरकार र प्रदेश सरकारबीच दुरी नबढेको स्पष्ट पारे । उनले भने,‘व्यवस्था परिवर्तन भएको छ, अब हामीले सोचपनि परिवर्तन गर्नुपर्छ । हिजोको एकात्मक शासनजस्तो व्यवहार देखाउनुहुँदैन् ।’