५ कार्तिक २०८३, बिहिबार

विवादीत अमेरिकी मूलका नेपाली नागरिक ‘मेन्डिज’ प्रचण्डसँगै किन अमेरिका पुगेका थिए ?

16.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको न्युयोर्क विमानस्थलमा फर्किने क्रममा रहेका नेकपा अध्यक्ष प्रचण्डसँगै देखिएका विवादीत नेपाली मूलका अमेरिकी नागरिक मेन्डिज

काठमाडौं, १७ चैत । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्किने क्रममा न्युयोर्क विमानस्थलमा खिचिएको एउटा तस्बिरमा देखिए, विवादीत नेपाली नागरिकताधारी अमेरिकी मूलका व्यक्ति चाल्र्स विलियम मेन्डिज ।

पत्नी सीता दाहालको उपचारका लागि दुई साताअघि अमेरिका पुगेका प्रचण्ड फर्किने क्रममा गएको बुधबार विमानस्थलमा मेन्डिज प्रचण्डसँगै देखिए ।

नेपालमा भूकम्प गएपछि अमेरिकी सहयोगका नाममा शक्ति केन्द्रसँग सम्बन्धलाई अझ बलियो बनाएका मेन्डिजको सम्बन्ध विभिन्न कुटनीतिक नियोगसँग पनि बलियो रहेको बताइन्छ । खासगरी उनी नेपाली हाईप्रोफाइललाई अमेरिका प्रवेश गराउने अनेक प्रकरणमा संलग्न हुँदै आएका छन् ।

सुरक्षा संयन्त्रका प्रमूख तथा विभिन्न राजनीतिज्ञले पनि उनलाई ‘पावर ब्रोकर’ भनेर बुझ्ने गरेका छन् ।

हालका एआइजी पुष्पकर कार्की काठमाडौं प्रहरी परिसरका प्रमूख हुँदा मेन्डिजलाई चेक बाउन्सको अभियोगको उजुरी परेको थियो ।

मेन्डिजलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको थियो । तर, शक्ति केन्द्रको ‘नेक्सस’मा रहेका उनलाई कारबाहीको प्रक्रिया भने अघि बढ्न सकेन । त्यसैबेला मेन्डिजविरुद्ध उजुरी दिनेलाई कार्कीले भनेका थिए,‘उनी शक्ति केन्द्रको छत्रछायाँमा रहेका व्यक्ति हुन् । कारबाही गर्ने प्रक्रिया अघि बढाउन मुस्किल छ ।’

उनलाई कारबाही गरेको भए अहिलेसम्म जेलमा पनि हुनसक्थे । तर, शक्ति केन्द्रको आडका भरमा उनी बैंकिङ कसुरमा एक रात पनि जेलमा बस्न परेन ।

मेन्डिज के अभियोगमा पक्राउ परेका थिए ?
विवादीत मेन्डिजलाई प्रहरीले उनका व्यापारीक साझेदारी अमेरिकन नागरिक अलेक्जेन्डर बोरिसको उजुरीका आधारमा पक्राउ गरिएको थियो ।

बोरिसले लिखित उजुरी दिएपछि शक्ति केन्द्रको वरीपरि भए पनि मेन्डिजलाई पक्राउ नगरी नहुने अवस्थामा प्रहरी पुगेको थियो । मेन्डिजले बोरिससँग लिएको ऋण चुक्ता नगरेका कारण पक्राउ गरिएको थियो । मेन्डिज बैंकिङ कसुर अभियोगमा पक्राउ परेका थिए ।

मेन्डिजको संगत उच्च तहका राजनीतिक व्यक्ति, पूर्वराजपरिवारका सदस्य र काठमाडौंका उच्च घरानीया परिवारसँग राम्रो सम्बन्ध रहेको मात्र पत्ता लागेन, उनी कुटनीतिक अभियानमा पनि सक्रिय रहेको सुरक्षा अधिकारीले पत्तो लगाएका थिए ।

प्रचण्डको अमेरिका भ्रमणमा अमेरिकी दूतावाससँगको तालमेल मिलाउन मेन्डिजको भूमीका रहेको शंका देखिन्छ । जबकी, उनी प्रचण्डसँग अमेरिकामा सँगै देखिनुलाई एउटा प्रमाण पनि मानिएको छ ।

मेन्डिज गोसाईकुन्डका नियमित ग्राहक भएर सोल्टी होटलमा बस्ने गर्छन् । मेन्डिजले त्यसबेला साझेदार बनाएका बोरिसलाई तीनवटा चेक दिएका थिए– ५० लाख, ३० लाख र १६ लाखको । तीनै चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी गरिएको थियो ।

के मेन्डिजको दुइटा नागरिकता छ ?
मेन्डिजको नेपाली नागरिकता छ । कतिपयले उनीसँग अमेरिकी नागरिकता रहेको पनि दाबी गरेका छन् । तर, त्यस सम्बन्धमा छानबिनका लागि प्रहरीमा उजुरी नपरेका कारणले पत्तो लाग्न सकेको छैन । तर, अमेरिका र नेपाल ओहोर दोहोर उनी गरिरहेका हुन्छन् ।

उनको खास काम के हो ? भन्ने विषयमा पनि खोजी गरिएको छैन । नेपाली नागरिकता लिएर उनले कुन–कुन काम गरेका छन् भन्ने विषयमा पनि गहन खोजी भएको छैन ।

प्रचण्डसँग कसरी भयो सम्पर्क ?
शक्ति केन्द्रमा खेल्ने भएकाले सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डसँग नजिक रहेका कार्यकर्ता र नेतासँग मेन्डिजको दह्रो उठबस छ । खासगरी पर्यटन व्यावसायसँग सम्बन्धित प्रचण्डनजिकका कतिपयलाई उनले समातेका थिए ।

प्रचण्ड अमेरिका जाने र त्यस विषयमा पनि केही विवाद चलिरहेका बेला मेन्डिजका लागि सत्तारुढ पार्टीसँग सम्बन्ध बनाउन सहज भयो । भेनेजुएला प्रकरणपछि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलाई प्रचण्डनिवास खुमलटारसम्म पुराउने काम मेन्डिजमार्फत नै गराइएको स्रोतहरूको दाबी छ ।