
काठमाडौं, १४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारविरुद्ध छानबिनका लागि उजुरी दर्ता गरेपछि अर्को तरङ्ग देखा परेको छ ।
विवेकशीलकी नेत्री रञ्जु दर्शनाले उक्त आयोजना ढिलासुस्ती हुनुको कारण र त्यहाँ भएको आर्थिक अनियमितताका विषयमा खोजी होस् भनेर उजुरी हालिन् । स्वभाविक रूपमा उक्त उजुरीको मर्म खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगर, त्यस मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिसँग जोडिन्छ ।
रञ्जुले भ्रष्टाचारविरुद्ध दर्ता गराएको उजुरीको समाचारले बजार पिटेपछि खानेपानी मन्त्री मगरले बुधबार एउटा विज्ञप्ति जारी गरी दुई–तीनवटा नयाँ विषय राखेकी छन् । र, उनले विज्ञप्तिमा आफ्नो भुमिका गौण हुने, मेलम्ची खानेपानी विकास समिति र मन्त्रालयका सचिवको भुमिका प्रमूख हुने पनि उठाएकी छन् । यसको अर्थ, सो उजुरीबाट आफू पन्छिन रञ्जुमाथि अन्य राजनीतिक र व्यक्तिगत विषय पनि विज्ञप्तिमा जोडिएका छन् । जस्तो, आफू र आफ्नो परिवारको बद्नामी गराउने षडयन्त्रसम्मका कुरा उल्लेख छन् ।
तर, मेलम्ची खानेपानी आयोजनासँग मन्त्रीमा मगरको नियुक्तिका दिनदेखि नै डाइरेक्ट कनेक्शन रहेका प्रमाणहरू प्रशस्तै छन् ।
पहिलो, मन्त्री नियुक्त भएको तेस्रो दिन उनी मेलम्ची आयोजनाको काम हेर्नका लागि मन्त्रालयका कर्मचारी, आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कर्मचारी र प्रतिनिधिसहित सिन्धुपाल्चोक पुगिन् । र, उनले आफ्नो कार्यकालको मुख्य मुद्दा मेलम्चीलाई समयमा काठमाडौं ल्याउने बताइन् । पहिलो घोषणा गरिन्,‘०७५ असारभित्र मेलम्ची काठमाडौंमा आउँछ ।’
दोस्रो, ऋषि धमला नेतृत्व रहेको रिपोर्टर्स क्लव नेपालमा उनलाई डाकियो । उनले त्यहाँ पनि भनिन्,‘मेलम्चीको पानी असार मसान्तसम्म जसरी पनि ल्याएरै छाडिन्छ ।’
तेस्रो, काम तदारुकताका साथ नहुँदा उनले तोकेको र बोलेको समयमा पानी नआउने भएपछि उनको समयसीमा फेरि फेरियो । र, मिडियामार्फत नै भनिन्,‘मेलम्ची ०७५ को दशैंभित्र आउँछ ।’
उनले विज्ञप्तिमा भने जस्तो सचिव र मेलम्ची विकास समितिको भूमिका नै प्रधान हुन्थ्यो भने हतारमा समयसीमा तोकेर घोषणा गर्न के अनिवार्यता थियो ?
प्रशासनमा के–के गरिन् ?
खानेपानी मन्त्रालय अन्तरगतका सबै प्रशासनिक काम सचिवको नेतृत्वमा नै हुन्छ । मन्त्रीले त्यहाँका फाइल सदर गर्ने र कामको रेकी गर्छन् । मेलम्ची प्रकरण मन्त्री मगरको राजनीतिक प्रतिष्ठाको पनि विषय भएका कारण उनले प्रशासनिक संयन्त्र परिवर्तनको शीलशीला थालिन् ।
समयमा मेलम्चीको काम नभएपछि तत्कालिन सचिव कृष्णराज बीसीको सरुवा गरि गजेन्द्र ठाकुरलाई मन्त्रालयमा ल्याउने काममा मन्त्री मगरको भुमिका प्रधान बन्यो । त्यो कुनै नियमित सरुवा थिएन । आफ्ना केही ‘भ्रष्ट सल्लाहकार’ र स्वकीय सचिवालयको सल्लाहका आधारमा बीसीको ठाउँमा ठाकुर ल्याइयो ।
ठेक्का तोडेको कम्पनीबाटै काम गराउने भनी मन्त्रालयको खर्चमा उनले आफ्ना स्वकीय सचिव र एक उपसचिवलाई सीएमसीसँग वार्ता गर्न भनी सिंगापुरलगायतका मुलुक पठाइन् । तर, त्यसको पनि उपलव्धी शुन्य भयो ।
विभागीय मन्त्री भएका कारणले यस प्रकरणबाट मगरले आफू संग्लिने ठाउँ कतै पनि राखिनन् । उनले स्थानान्तरण गरी ल्याएका सचिव ठाकुरले मेलम्ची खानेपानी आयोजना जतिसुकै खटपटका बीच चलेपछि गत २७ माघभित्र सम्पन्न हुने र काठमाडौंमा पानी आउने मन्त्रालयको लेटरहेडमै लेखिदिए । जसमा, मन्त्री मगरले लाहा छाप लगाउँदै सचिव ठाकुरको निर्णय सदर गरिन् ।
मेलम्चीको काम गरिरहेको इटालियन ठेकेदार कम्पनी सीएमसीले मागेको ३५ करोड रकम भुक्तानीमा सचिव ठाकुरले आलटाल मात्र गरेनन्, ठूलो कमिशन पनि माग गरेका विवरण बाहिर आए । यस विषयमा मन्त्री मगरले कुनै चासो राखिनन् बरु, सचिवको निर्णयका आधारमा नै उनी अघि बढिन् ।
त्यसपछि मगरकै स्वकीय सचिव विजय भट्टराईको नेतृत्वमा ३० जना प्रहरी टोली लगाएर सीएमसीका प्रतिनिधि पक्राउ गरी राहदानी जफतको काम भयो । त्यसमा पनि मन्त्री मगरले कुनै खास एक्शन लिइनन् । न प्रतिरोध गरिन् ।
मेलम्ची विकास समिति र मन्त्रालयले माग गरेको रकम तथा विवाद समाधान बोर्डले पनि पेश्की भुक्तानका लागि दिएको निर्देशनअनुसार ३५ करोड नपाएपछि सीएमसीले एकतर्फी ठेक्का तोडेको थियो । त्यसको विवाद जारी रहँदा सचिव ठाकुरले पनि ठेक्का तोड्ने निर्णय गरे, जसमा मन्त्रीको स्वीकारोक्ति देखिन्थ्यो । तर, यहाँबाट उनी र ठाकुरबीच विवाद पनि भएको थियो ।
ठेक्का तोडेको कम्पनीबाटै काम गराउने भनी मन्त्रालयको खर्चमा उनले आफ्ना स्वकीय सचिव र एक उपसचिवलाई सीएमसीसँग वार्ता गर्न भनी सिंगापुरलगायतका मुलुक पठाइन् । तर, त्यसको पनि उपलव्धी शुन्य भयो ।
अन्ततः उनले केही सीप नलागेपछि सचिव ठाकुरको सरुवा गरिदिइन् र मन्त्रालयमा दिपेन्द्रराज शर्मा सचिवका रूपमा आइपुगे । मगरले मन्त्रालय सम्हालेको एक बर्षभित्र भएका तीन सचिवका सरुवाले के पुष्टि गर्छ भने मेलम्ची प्रकरणमा उनको डाइरेक्ट कनेक्शन छ ।
यस विषयमा संसदमा प्रश्न उठेको थियो । नेपाली कांग्रेसका सांसद गगनकुमार थापा (जो अहिले अध्ययनका लागि अमेरिका छन्)ले मेलम्ची प्रकरणबारे सोधे । मन्त्री मगरले मेलम्ची जसरी पनि आउने जवाफ दिँदै मन्त्रालयमा भएका सरुवा नियमित प्रक्रियामात्र भएको ‘सफेद झूठ’ बोलिन् ।
उनले यसो भन्नुअघि नै सीएमसीसँग काम गराउनका लागि मन्त्री मगरको कदमबारे कडा टिप्पणी गर्दै सचिव ठाकुरले भनेका थिए,‘मन्त्रीले मुलुक डुबाउन लागिन्, मैले जोगाएँ ।’ यो भनाभन मेलम्ची प्रकरणमा मन्त्री र सचिवको ‘इन्ट्रेस्ट’ बाझेका कारण थियो ।
आफू सुकिलो देखिन विज्ञप्ति ?


आफू माथाहत रहेको आयोजना भएका कारण उनको चासो हुनुपर्छ, काम पूरा नभएको विषयमा उनले जनतालाई भन्नुपर्छ । उनैले समयसीमा तोकेर यो दिन आउँछ भनेको समयमा नआउनु र त्यहिबीचमा सचिवहरूको सरुवा, कमिशनका विषय, मुद्दामामिला भएपछि यसको छानबिन गर्नुपर्छ भनी आम नागरिकले सोध्न पाउने की नपाउने ?
उनले राष्ट्रिय महत्वको मेलम्ची आयोजनामा भएको भ्रष्टाचारविरुद्ध अख्तियारमा भएको उजुरीलाई लिएर विवेकशील नेपाली दलकी रञ्जु दर्शनाको नामै किटान गरी चरित्र हत्याको जिम्मा लिने ? भनेर सोधेकी छन् । अर्को, यहि प्रकरणमा आफू र आफ्ना परिवार (प्रचण्ड परिवार)लाई बद्नाम गराउने षडयन्त्र भएको पनि उल्लेख गरेकी छन् ।
मेलम्ची कुनै आमुख मन्त्री वा परिवारको सरोकारको विषय नभएर लामो समयदेखि अन्योलमा रहेको आयोजनाको विषय हो । यसअघिका सरकारलगायतले पनि यस आयोजनालाई हात्तिको देखाउने दाँत जस्तो पारी करोडौं रकम भ्रष्टाचार गरेको ओपन सेक्रेट छ । यसमा आत्तिँदै मन्त्री जस्तो मान्छेले विज्ञप्ति निकालेर पानी माथिको ओभानो बन्न जरुरी थियो ? अथवा, परिवारलाई मुछेर भावनात्मक प्रश्न गर्नुपर्ने के आवश्यकता थियो होला ?
आफू माथाहत रहेको आयोजना भएका कारण उनको चासो हुनुपर्छ, काम पूरा नभएको विषयमा उनले जनतालाई भन्नुपर्छ । उनैले समयसीमा तोकेर यो दिन आउँछ भनेको समयमा नआउनु र त्यहिबीचमा सचिवहरूको सरुवा, कमिशनका विषय, मुद्दामामिला भएपछि यसको छानबिन गर्नुपर्छ भनी आम नागरिकले सोध्न पाउने की नपाउने ? मेलम्चीमा के कति काम भयो, कसरी हुँदैछ भन्ने आम चासोलाई राजनीतिक भाषा र आफ्नो राजनीतिक संघर्षको भावनाको ढालले भन्दा पनि भएका कामको परिणाम देखाउने जिम्मा मन्त्रीको हो की होइन ?
एउटा तर्क के भने, यो सरकार असफल भयो भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफू १४ बर्ष जेल बसेको मान्छे, राजनीति गरेको मान्छे, बिरामी भएको मान्छे भनेर जनतासामु जवाफ दिएर पुग्ला ? कि सरकार असफल हुनुको कारण, त्यसका कारकमाथि कारबाहीको लाठी चलाएर राम्रो परिणाम देखाउने हो ?
मेलम्ची प्रकरणबारे मन्त्री मगरको सरोकार नभए संसदका विभिन्न समितिले उनलाई डाकेर किन सोध्यो ? उनले किन जवाफ दिनु परेको थियो ?
सदनमा सांसदले उठाएको प्रश्न मेलम्ची प्रकरणमा नै थियो, उनले जवाफ किन दिनुपरेको थियो ? खानेपानी मन्त्रालयका हरेक गतिविधिको जानकारी पूर्ण रूपमा मन्त्री मगरलाई हुनुपर्छ । यसको जवाफ तथ्यांक, परिणाम र सम्भावनाका लिखित खाकामा हुनुपर्छ नकी भावनात्मक तर्कको जगमा ।
मेलम्ची आम जनताको सरोकारको विषय हो, हरेक बर्ष यसको लागत बढ्दा जनताको पसिनाले तिरेको कर खेर गइरहेको छ, यसमा हेक्का हुनुपर्छ ।















प्रतिक्रिया