कावासोती, १२ चैत । नवलपुरमा आज दिनभर जसो विद्युत सेवा अवरुद्व हुने भएको छ ।
बिहान परेको पानीसँगै आएको चट्याङका कारण नवलपुरका प्रायः सवैजसो स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । नवलपुरको प्रगतिनगरमा रहेको १३२ बाई ११ सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षती पुगेपछि नवलपुरका सबैजसो ठाउमा विद्युत सेवा अवरुद्व भएको हो ।
चट्याङले ट्रान्सफर्मरमा क्षति पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा विद्युत सेवा अवरुद्व भएको विद्युत प्राधिकरण वितरण केन्द्र कावासोतीका सूचना अधिकारी लालहरी उपाध्यायले जानकारी दिए । उनका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवलबाट प्राबिधिक बोलाइएको छ ।
यद्यपि ट्रान्सफर्मर खोल्न नमिल्ने भएकाले सम्भवत आज दिनभर नवलपुरमा विद्युत सेवा अवरुद्व हुनेछ । यदी सो ट्रान्सफर्मरमा ठूलै समस्या आएको भए विद्युत सेवा कहिलेबाट सुचारु हुन्छ भनेर यसै भन्न नसकिने सूचना अधिकारी उपाध्यायले बताए ।
नवलपुरको अरुणखोला र दुम्किवासमा भने विद्युत सेवा अवरुद्व भएको छैन । सो ठाउमा बर्दघाट तर्फको लाईन रहेकाले त्यहा विद्युत सेवा अवरुद्व नहुने सूचना अधिकारी उपाध्यायको भनाई छ ।
विद्युत सेवा अवरुद्व भएपछि जिल्लाका सञ्चार माध्यम, कल कारखाना उद्योगलगायतका क्षेत्रमा प्रत्यक्ष असर पुगेको छ ।












प्रतिक्रिया