वासिंगटन, १२ चैत । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानमा रुससँग साँठगाँठ नभएको प्रतिवेदन बाहिर आएको छ ।
ट्रम्पको निर्वाचन अभियानबारे अनुसन्धान गरेका विशेष अनुसन्धानकर्ता रोबर्ड मुलरले अमेरिकी कंग्रेसमा बुझाएको प्रतिवेदनको सारांशमा डोनाल्ड ट्रम्पको अभियान र रुसबीच साँठगाँठ भएको प्रमाण फेला नपरेको उल्लेख गरिएको छ ।
यद्यपि ट्रम्पले न्याय निरुपणमा अवरोध नगरेको निष्कर्ष निकालिएको छैन । न्याय निरुपणमा अवरोध गरेको आरोपमा ट्रम्पले सफाइ नपाएका हुन् ।
महान्यायधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि सो सारांश तयार पारेका थिए ।अमेरिकी राष्ट्रपति निर्वाचन सकिएको दुई वर्षभन्दा लामो समयसम्म भएको अनुसन्धानका क्रममा ट्रम्पका थुप्रै सहयोगीविरुद्ध मुद्दा चलाइएको छ भने केही जेलमा रहेको छन् ।
प्रतिवेदनको सारांश सार्वजनिक भएसँगै ट्रम्पले आफूले सफाई पाएको उल्लेख गरेका छन् । उनले पत्रकारहरूलाई सक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यो लज्जाको विषय हो कि देश यस्तो प्रक्रियामा जानुप¥यो । साँच्चै भन्नुपर्दा जसरी तपाईंहरूका राष्ट्रपतिले चुनाव जित्नु अगावै यसरी अगाडि बढ्नुपरेको यो लज्जाको विषय हो ।’
उनले यो विषय आफूमाथि मानमर्दनको अर्को पाटो भएको भन्दै यो गैरकानुनी प्रयास असफल भएको दाबी पनि गरेका छन् । उनले भनेका छन्, ‘कसैले गैरकानुनी तरिकाबाट अगाडि बढेको यसको अर्को पक्षलाई पनि खोज्नु जरूरी छ । यो मानमर्दनको गैरकानुनी प्रयास थियो, अन्ततः असफल सिद्ध भयो ।’
बारले तयार पारेको सारांशपत्रमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी प्रभावबारे मुलरले गरेको अनुसन्धानबाट थाहा भएका तथ्यांकहरूको सारांश छ ।
बारले संसदलाई लेखेको पत्रमा भनेका छन्, ‘विशेष अनुसन्धानकर्ताले कुनै अमेरिकी नागरिक वा ट्रम्प अभियानका अधिकारीले रुससँग मिलेर षड्यन्त्र गरेको वा नियतवश सहकार्य गरेको तथ्य भेटिएन ।’
विशेष अनुसन्धानकर्ताको प्रतिवेदनमा ‘अन्ततः परम्परागत अभियोजनात्मक निर्णय’ भने दिइएको छैन । ‘तसर्थ विशेष अनुसन्धानकर्ताले छानबिन गरिएको आचार अवरोध हो कि हैन भनेर कुनै निष्कर्ष निकालेका छैनन्,’ पत्रमा भनिएको छ । यसबाट ट्रम्पले न्यायमा अवरोध पु¥याउने अपराध गरेको भन्ने प्रमाणित हुन नसक्ने बारले दाबी गरेको छ ।
कंग्रेसलाई पठाएको पत्रमा बारले प्रतिवेदनका अन्य कुरा पनि सार्वजनिक गर्ने तर केही सामग्री भने सार्वजनिक गर्न नमिल्ने उल्लेख गरेका छन् ।
डेमोक्रेटिक पार्टीका संसद सदस्य जेरी न्याड्लरले महान्याधिवक्ताले ट्रम्पले न्यायमा अवरोध गरेको हुन सक्ने सम्भावनालाई खण्डन नगरेको टिप्पणी गरेका छन् भने सोही दलका सिनेटर रिचर्ड ब्लुमेन्थलका अनुसार मुद्दा चलाउनेगरी आपराधिक षड्यन्त्र गरेको प्रमाण नभए पनि ट्रम्पबारे प्रश्नहरू यथावत् रहेका छन् ।
सभामुख न्यान्सी पेलोसी र सिनेटर चक शुमरले संयुक्त विज्ञप्तिमार्फत् ’महान्यायाधिवक्ता बारले सारांशपत्र पठाएर जवाफ दिइरहँदा त्यसले थुप्रै प्रश्न उठाएको’ भन्दै पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
कंग्रेसलाई पठाएको पत्रमा बारले भने प्रतिवेदनका अन्य कुरा पनि सार्वजनिक गर्ने तर केही सामग्री भने सार्वजनिक गर्न नमिल्ने उल्लेख गरेका छन् ।
ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले प्रतिवेदनले राष्ट्रपतिलाई पूर्णतः सफाइ दिएको दाबी गरेका छन् । प्रतिवेदनबाट डेमोक्रेट्स निराश बनेका छन् भने राष्ट्रपतिसहित रिपब्लिकन नेता तथा उनका शुभेच्छुक उत्साहित देखिएका छन् ।
प्रतिवेदनको निष्कर्षले अमेरिकी निर्वाचनमा पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने ट्रम्पको योजनामा राहत हुने अनुमान गरिएको छ ।
यसैबीच, सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि किसिमको सत्यता नरहेको मस्कोले पुनः दोहो¥याएको छ ।
राष्ट्रपति चुनावमा धाँधली भए नभएको बारे जाँचबुझ गर्न गठित रोबर्ट मुलरको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पका विरुद्ध कुनै ठोस प्रमाण नभेटिएको जानकारी सार्वजनिक भएलगत्तै रुसको भनाई सार्वजनिक भएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै आफूले मुलरको प्रतिवेदन हेर्न नपाएको तर रुसले कहिल्यै पनि अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको बताए । उनले भने, ‘अमेरिका समेतका कुनै पनि मुलुकविरुद्ध रुसले हस्तक्षेप गर्दैन, र यो रुसको घोषित नीति हो ।’
अमेरिकी चुनावमा रुसले साइबर आक्रमण गरेको, चुनाव प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरेको तथा डेमोक्र्याटिक पार्टीको इमेल ह्याक गरी राष्ट्रपतिका प्रमुख दाबेदार हिलारी क्लिन्टनमाथि दबाब सिर्जना गरेको आरोप छ ।















प्रतिक्रिया