
– होम साउद
अछाम, ११ चैत । मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उहाँका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ ।
कुनैबेला गोरप्रसादले चौबीसै घण्टा मदिरा सेवन गर्थे र घरमा आएर झगडामा उत्रन्थे । त्यसरी भताभुङ्ग हुने अवस्थामा रहेको उहाँको परिवार यतिबेला आर्थिक, सामाजिक र सबै हिसाबले सबल बनेको छ । आठ वर्ष यता गोरप्रसादले मदिरा सेवन चटक्कै छोडेपछि व्यावसायिक रुपमा दम्पती मिलेर सङ्घर्ष गर्दा सबैतिरबाट सफल भएकामा उनीहरु दङ्ग छन् । होटल सँगै डेरी उद्योगसमेत सञ्चालन गर्नुभएका हरिकला र गोरप्रसादले मनग्य आम्दानी मात्रै गर्नुभएको छैन, व्यवसायमार्फत जीवनलाई नै कायापलट गर्नुभएको छ ।
विगतका वर्षहरुमा मदिरा सेवन गर्ने गरेकै कारण कलह र कटुतापूर्ण सम्बन्ध रहेको हरिकला र गोरप्रसादको वर्तमान भने व्यावसायिक रुपमा सफल र सामाजिक रुपमा अब्बल छ । यसो हुनुको पछाडि गोरप्रसादले मदिरा परित्यागपछि श्रीमतीसँग मिलेर कडा मेहनत गर्नु नै भएको दुबै बताउँछन् ।
अभाव, दबाब र सामाजिक अपहेलना सँंगै २२ वर्ष अघिदेखि सामान्य रुपमा चिया र खीर बेच्दै गरेका विगतका ती दिन र मदिराविरुद्ध श्रीमान्सँग लड्दाका कठिन क्षणहरु सम्झँदै हरिकलाले भन्नुभयो – “पहिले त साह्रै अप्ठेरो थियो, पैसा थिएन, भाँडाकुँडा थिएन । श्रीमान्ले पनि साथ दिने त कता कता, मदिरा सेवन गरेर मलाई र छोराछोरीलाई कुटपिट गर्नु हुन्थ्यो । मैले ठूलो दुःख झेलेकी छुँ ।”
मदिराको लतमा लागेर बिग्रिएका श्रीमान्लाई बाटोमा ल्याउन सबैसँग हारगुहार माग्दै सङ्घर्ष गरेर आफू अघि बढेको हरिकलाले बताउनुभयो । अहिले श्रीमान्ले मदिरा छाडेको र मिलेर काम गरेपछि आफूहरु सफल भएको हरिकलाको भनाइ छ । उहाँ भन्नुहुन्छ – “श्रीमान्ले रक्सि छाडेपछि धेरै रामो भयो । रक्सि छोडेपछि नै हो हाम्रो व्यापार व्यवसाय पनि फस्टाएको ।” नराम्रा कुराका विरुद्ध लडाइँ लडिरह्यो भने एक न एक दिन सफलता मिल्ने हरिकलाको जीवनबाट चरितार्थ हुन्छ ।
श्रीमानले साथ नपाएकी र गाउँ समाज सबैतिरबाट अपहेलना खेपेकी हरिकलाले विगत सम्झँदै भावुक भएर भन्नुभयो – “मेरो विगतको सङ्घर्षको परिणाम स्वरुप आजभोलि सबैबाट प्रशंसा पाइरहेकी छु । व्यावसायिक रुपमा पनि सफल भएकी छु । आठ वर्षदेखि श्रीमान्ले पनि रक्सि छोडेर मलाई डटेर साथ दिनुभएपछि झनै हौसला बढेको छ ।” श्रीमान्ले रक्सि खाएर सुल्टो कुरा कहिल्यै नगर्ने, छोराछोरी र आफूलाई कुटपिट गर्ने श्रीमान्को व्यवहारबाट हरिकला वर्षौंसम्म आजित हुनुपर्यो । हिजो खिसिटिउँरी गर्नेहरु भने आज उहाँका प्रशंसक भएका छन् । – रासस












प्रतिक्रिया