५ कार्तिक २०८३, बिहिबार

निर्मला प्रकरण : तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छोड्न अदालतको आदेश

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १० चैत । निर्मला हत्या प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले साढे १० लाख धरौटी माग गर्दै विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गएको साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको बलात्कार गरि हत्या गरिएको अवस्थामा ११ गते उखुबारीमा शव भेटिएको थियो ।

घटना भएको लामो समयसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । तत्कालीन् प्रहरी प्रमुख विष्टले प्रमाण जोगाउन नसकेको, अनुसन्धानमा लापरवाही गरेको, निर्दाेष व्यक्तिलाई आरोप स्वीकार्न बाध्य पारेको, हिरासतमा कुटपिट गरेको लगायतका आरोप लगाइएको थियो । उनलाई गृहमन्त्रालयले निलम्बन गरिसकेको छ ।

विष्टविरुद्ध केहीदिन अघि निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टले मुद्धा दायर गरेका थिए । दिलिपलाई प्रहरीले घटनाका मुख्य दोषी भनी सार्वजनिक गरेको थियो । तर, उनको डीएनए नमिलेपछि अदालतको आदेशमा दिलिप रिहा भएका थिए ।

निर्मला बलात्कारपछि हत्या गरेको आशंकामा पक्राउ परेका दिलिपसिंह बिष्टलाई एसपी बिष्टले हिरासतमा यातना दिएको भन्दै परेको मुद्दामा ६ लाख र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा साढे ४ लाख धरौटी माग गरिएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले आइतबार दुबै मुद्दामा छुट्टाटुट्टै धरौटी रकम मागेको हो। बिष्टलाई साढे १० लाख बुझाए तारेखमा छोड्न र नबुझाए थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको स्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

कञ्चनपुरका तत्कालिन  प्रहरी प्रमुख बिष्ट र सिआइबीका डिएसपी अंगुर जिसीसहित ८ प्रहरी अधिकारीविरूद्ध प्रमाण नष्ट गरेको र दिलिप सिंह बिष्टलाई यातना दिएको भन्दै प्रहरीले छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।

जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि ६ प्रहरी ३१ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।