
काठमाडौँ, ९ चैत । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका प्रभावशाली नेता हेमन्तप्रकाश ओली सुदर्शन पक्राउ परेका छन् । मध्य केन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका ओलीलाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरिएको स्रोतले जनाएको छ ।
तर, प्रहरीले यसलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन । उनलाई प्रहरीको विशेष ब्युरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको बताइएको छ ।
उनीसहित विप्लव नेकपाका ८ नेता कार्यकर्तालाई पक्राउ परेका छन् । उच्च प्रहरी स्राेतका अनुसार सुदर्शनसहितकाे टाेली काठमाडाैं आइरहेका बेला अपरेसनमा खटिएकाे प्रहरी टाेलीले नियन्त्रणमा लिएकाे हाे। उनीहरू निजी गाडीमा काठमाडाैं आइरहेको बेला प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लाेकेन्द्र खड्का पक्राउ परेका हुन्।
विप्लवले पार्टीभित्र धेरै विश्वास गर्ने नेतामा ओली पर्छन् । उनकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ । विस्फोटमा एकजनाको मृत्यु भएको थियो । अन्य दुई जना घाइते भएका थिए ।
ओली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता हुन् । दोस्रो नम्बरका मानिएका प्रकाण्डलाई भन्दा विप्लवले स्थायी समिति सदस्य ओलीलाई विश्वास गर्छन् । ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गरिरहेको छ । केहीदिन अघि काभ्रे पुगेको प्रहरीले टोलीले ओलीलाई पक्राउ गर्न खोज्दा दोहोरो झडप भएको थियो ।
त्यसक्रममा विप्लव समूमह ४ नेता पक्राउ परेका थिए भने ओली भाग्न सफल भएका थिए । उनी बसेको घरबाट उनको चस्मा र औषधी बरामद गरिएको थियो । त्यसयता काभ्रेमै बसेर प्रहरीले ओलीको खोजी तीब्र पारेको थियो ।
हिंसात्मक गतिविधि गरिरहेको भन्दै सरकारले हालै विप्लव समूहमाथि प्रतिबन्ध गरेको छ । प्रहरीले अहिलेसम्म पक्राउ गरेका विप्लवका नेता, कार्यकर्तामध्ये ओली हाइप्रोफाइल नेता हुन् ।















प्रतिक्रिया