२० कार्तिक २०८३, शुक्रबार

कपुरकोटमा बन्ने भयो पर्यटकीय उद्यान तथा सांस्कृतिक संग्राहलय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी
सल्यान, २२ फागुन । सल्यानको कपुरकोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले पर्यटकीय उद्यान तथा सांस्कृतिक संग्राहलयको गुरु योजना तयार गरिएको छ । चिसो हावापानी, शान्त वातावरण, हिम श्रृंखला र तराइका समथर फाँट सजिलै देख्न सकिने अग्लो स्थान कपुरकोट ४ किमुचौर स्थीत घंगारिचौरमा भ्यू टावर सहितको उद्यान तयार गर्नका लागि अवधारणा अघि सारिएको हो ।

ईन्जिनियरको घर प्रालि काठमाडौंको सहयोगमा कपुरकोट गाउँपालिकाले तयार गरेको गुरु योजना अनुसार पाँच करोड रुपैयाँको लागतमा उद्यान तयार गर्न सकिने गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जनाए । स्थानीय स्तरमा उपलब्ध हुने स्रोत र साधनको प्रयोगबाट उद्यान निर्माण गर्न सकिने गरि गुरु योजना तयार भएको उनले जनाए ।

बुधबार उद्यान तथा संग्राहलय परिकल्पनाको भिडियो र तस्वीरहरु सार्वजनिक गर्दै ईन्जिनियरहरु प्रेम डाँगी र तीर्थराज वस्नेतले कपुरकोटमा निर्माण हुने उद्यान उत्कृष्ट स्थानमा रहने भएकाले यसको महत्व असाधारण रहेको बताए । ईन्जिनियर डाँगीले भने, ‘हामीले परिकल्पना गरेको उद्यान स्तो ठाउँमा निर्माण हुँदैछ, जुन सल्यानको अरु कुनै ठाउँमा वा दाङको कुनै ठाउँमा निर्माण भयो भने खासै महत्वको नहुन सक्छ ।’

२७ सय वर्गमिटरमा उद्यान फैलने

कपुरकोट बजारदेखि करिव २ किलोमिटर पश्चिममा रहेको घंगारिचौरमा दुई हजार सात सय वर्गमिटर क्षेत्रफलमा उद्यान निर्माण गरिने छ । जहाँ चारैतिरको रमणीय दृश्यहरु अवलोकन गर्नका लागि आधुनिक भ्यू टावर, सांस्कृतिक संग्राहलय, शहिद स्तम्भ जस्ता भौतिक संरचनाह रहने छन् ।

‘हामीले उद्यान निर्माण गर्ने भनेको स्थानमा यस अघि नेपाल आर्मी रहँदा द्वन्द्वकालमा युद्ध भएको थियो । जहाँ धेरै जनाको ज्यान गएको थियो । त्यसैले उनीहरुको सम्झना र सम्मानमा शहिद स्तम्भ निर्माण गरिने छ,’ गाउँपालिका अध्यक्ष सेनले भने, ‘सांस्कृतिक संग्राहलयमा गाउँघरमा लोप हुन लागेका तोरी पेल्ने कोल, ढिकी, जाँतो देखि अन्य मौलिक संस्कृति झल्कने चिजवस्तुहरु राखिने छ ।’

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य

स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोग गरि सन्तुलित विकासमा सहयोग पुर्याउने आफूहरुको उद्देश्य रहेको जनाउँदै अध्यक्ष भिम बहादुर सेनले आन्तरिक तथा बाहय पर्यटन प्रवद्र्धन गर्न उद्यानले सहयोग पुर्याउने विश्वास ब्यक्त गरे । यस्तै स्थानीय संस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्ने, गाउँपालिकाको सामाजिक तथा आर्थिक बिकाशमा टेवा पुर्याउने, स्थनीय स्तरमै रोजगारीका अवसरहरु सिर्जना गर्ने जस्ता उद्देश्यले यस्तो योजना अघि सारिएको उनले जनाए ।

यो योजना सम्पन्न गर्नका लागि बजेटको ब्यवस्थापनमा आफूहरु लागेको जनाउँदै सेनले प्रदेश सरकार, संघीय सरकारसँग आवश्यक बजेट माग गरिने तथा नीजि क्षेत्रबाट पनि लगानीको अपेक्षा गरे । यसका साथै खेल मैदान, सभाहल र कभर्ड हल निर्माणका लागी पनि गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ ।