
काठमाडौं, १४ फागुन । भारतले मंगलबार विहान पाकिस्तानमा बम खसालेको जनाएको छ । पाकिस्तानी आतंककारी समूह जैस–ए–मोहम्मद विरुद्ध बम खसालेको भारतले जनाएको छ ।
सो समुहले भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना पाएपछि आक्रमण गरेको भारतको दाबी छ । मंगलबार बिहान नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण गर्ने योजना बनाएकाले सूचना आएकाले उसका अखडामा आक्रमण गर्नु आवश्यक भएको बताए ।
भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तानका भूमिमा १ हजार किलोग्रामको बम खसालेको दाबी छ ।
उता पाकिस्तानले भने भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको बताएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको बताएका छन् । भारतीय बमबाट कुनै मानवीय क्षति नभएको पाकिस्तानको दाबी छ ।
भारतले पाकिस्तानले भारतविरूद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता पालना नगरेकाले यो आक्रमण गर्नु परेको जनाएको छ ।
जवाफमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आइलागेमा त्यसको जवाफ सोचेर नबस्ने बताए । जवाफमा कडा प्रतिकार गर्न पाकिस्तान तयार रहेको उनको चेतावनी छ ।















प्रतिक्रिया