– यमबहादुर बम
धनगढी, २४ माघ । धनगढीको सेती अञ्चल प्रहरी मैदानमा जारी देशकै सर्वाधिक धनराशीको होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको उपाधि न्यू होराईजन कलेज बुटबलले जितेको छ ।
शनिबार सनसाईन कलेज भैरहवालाई फाइनलमा ७ रनले पराजित गर्दै न्यू होराइजनले उपाधी जितेको हो । उपाधीसँगै न्यू होराइजनले ५ लाख नगद पाएको छ । प्रतियोगितामा उपविजेता बनेको सनसाईनले २ लाखमा पुरस्कार पाएको छ ।
१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको सनसाईनले १ बल बाँकी छदा अलआउट हुँदा १ सय ६४ रनमात्रै जोड्न सक्यो । सुवोध श्रीवास्तवले ४६, मयङ्क यादवले ४४ र अन्तिम थापाले ३७ रन हाने पनि टिमलाई जिताउन सकेनन् ।
न्यु होइराइजनका लागि शक्ति गौचन र सौरभ खनालले समान ३, तथा सोमपाल कामी र सुसान भारीले १–१ विकेट लिए । सुवोध रन आउट भएका थिए भने, अन्तिम थापालाई फिल्डरलाई अवरोध गरेपछि पेबेलियनको बाटो देखाइएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन जोडेको थियो । उसका लागि सोमपाल कामीले सर्वाधिक ४०, सन्दिप सुनारले ३४, निर्मल थापाले २६, सौरभ खनालले २४ तथा प्रकाश केसीले २३ रनको योगदान गरेका थिए ।
उपाधी यात्रा तय गर्ने क्रममा न्यू होराइजनमा रहेका २ मात्र राष्ट्रिय खेलाडी मध्ये सोमपाल कामीले ब्याट तथा शक्ति गौचनले बलिङमार्फत भरपुर योगदान गरे । ८ बलमा २४ रन जोड्नुका साथै ३ ओभर ५ बलमा ३६ रन खर्चिएर ३ विकेट लिएका न्यु होराइजनका सौरभ खनाल म्यान अफ दि म्याच घोषित भए ।
शुक्रबार सेमिफाईनलमा न्यु होराईजनले काठमाण्डौको पेन्टागनलाई ४४ रनले तथा दोस्रो सेमिफाईनलमा सनसाईनले होलील्याण्ड हाईएर सेकेण्डरी स्कुल नेपालगञ्जलाई ७४ रनको अन्तरले किनारा लगाउदै फाईनल प्रबेश गरेका थिए ।
प्रतियोगिताका संयोजक सुवास शाहीले समापन कार्यक्रममा आगामी दिहरुमा पनि क्रिकेट प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो । ‘खेल विकास हाम्रो लक्ष्य हो,’ उहाँले भन्नुभयो, ‘निरन्तर लागिरहने छौं ।














प्रतिक्रिया