१९ कार्तिक २०८३, बिहिबार

महाअभियोगबाट जोगिन अख्तियार आयुक्त पाठकद्वारा राजीनामा

11.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ फागुन । भ्रष्टाचार प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

उनले शुक्रबार दिउँसो राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बोकेर उनी आफैँ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । उनको राजीनामा दर्ता नं. ११४७ रहेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

पाठकविरुद्ध आजै महाअभियोग लगाउने नेकपाको तयारी थियो । पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएको थियो ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले  नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई महाअभियोगको तयारी गर्न निर्देशन दिएका थिए । सोही अनुसार नेकपाका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको थियो ।

बिहीबार नै कानुनमन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलबीच यो विषयमा छलफल भएको थियो । उनीहरुबीच भएको छलफलमा सुरुमा राजीनामा गर्न समय दिने र राजीनामा नआए महाअभियोगको तयारी गर्ने निष्कर्ष जुटेको थियो ।

तर, अब राजीनामा दिएसँगै पाठक महाअभियोगबाट जोगिएका छन् ।