२९ आश्विन २०८३, बिहिबार

लगानी भित्र्याउन राजनीतिक स्थिरता र सुरक्षा आवश्यकः एडिबी अध्यक्ष नाकाओ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nadaya-adb

काठमाडौँ, २० माघ । एसियाली विकास बैंक एडिबीका अध्यक्ष ताकाहिको नाकाओले राजनीतिक स्थायित्व एवम् भरपर्दो सुरक्षा व्यवथा प्रत्यक्ष वैदेशिक लगानीका निम्ति अपरिहार्य भएको बताउँदै स्रोत र साधनको अधिकतमा उपयोग गरी आर्थिक उन्नयनको दिशामा अघि बढ्नुपर्ने सुझाव पनि दिनुभएको छ ।

एडिबीले नेपालमा आवासीय कार्यालय स्थापना गरेर नेपालको आर्थिक–सामाजिक विकासमा योगदान गर्न थालेको २५ औँ वार्षिकोत्सवको अवसरमा नेपलाको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले मंगलबार अपराह्न राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उद्योगधन्दाको स्थापना तथा रोजगारीका पर्याप्त अवसरको सिर्जनाका निम्ति नेपाललाई प्रत्यक्ष वैदेशिक लगानीको ठूलो आवश्यकता रहेको बताउनुभयो ।

जलविद्युत् उत्पादन नेपालको अर्थतन्त्रको आधारशिला बन्न सक्ने र त्यसले आयका साथै निर्यातको पनि प्रशस्त सम्भावना बोकेकाले त्यस क्षेत्रमा लगानी जुटाउनु आवश्यक भएको बताउँदै ठूला कलकारखाना तथा पर्यटन उद्योगको विकासबाट अधिकभन्दा अधिकलाई रोजगारी उपलब्ध हुने भएकाले उत्पादनमूलक उद्योग र पर्यटन क्षेत्रलाई पनि सँगसँगै विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

विप्रेषण आप्रवाह उत्सावद्र्धक भए पनि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ विलम्ब गर्न नहुने विचार व्यक्त गर्दै उहाँले यातायात, विमानस्थल, व्यापार सहजीकरण, निर्यात प्रवद्र्धनलगायत क्षेत्रमा लगानी बढाउनु अत्यावश्यक भएको बताउनुभयो । “शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि लगानी गर्नैपर्छ, जनतामा गरेको लगानी खेर जाँदैन”अध्यक्ष नाकाओले भन्नुभयो । व्यावसायिक एवम् प्राविधिक शिक्षालाई पनि उत्तिकै महत्व दिनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

सुशासन, प्रशासनिक सुधार, भन्सार, कर, सार्वजनिक खरिद ऐन संशोधन, नियमन निकायको सुदृढीकरण, व्यवसाय विस्तार तथा लगानीका निम्ति एकद्वार प्रणाली पनि नेपालको आर्थिक वृद्धिका निम्ति अति महत्वपूर्ण विषय हुन् भन्दै उहाँले स्पष्ट, लक्ष्य र दृष्टिकोणका साथ सरकार अघि बढेमा आर्थिक विकासका लक्ष्य हासिल गर्न कठिन नहुने बताउनुभयो ।

धार्मिक एवम् साहसिक पर्यटनका लागि नेपाल विश्वविख्यात रहेकाले ती क्षेत्रको प्रवद्र्धनलाई पनि केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिँदै अध्यक्ष नाकाओले पर्यटन विकासका पूर्वाधारसहित विकास–निर्माणका अन्य परियोजनामा सक्दो सहयोग गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपालमा सञ्चालित ठूला आयोजनाका अतिरिक्त अन्य बृहत् परियोजनामा लगानी गर्ने सोच बैंकले बनाएको जानकारी दिँदै उहाँले भारत, चीन, जापानजस्ता द्विपक्षीय साझेदारसँग मिलेर थप परियोजना नेपालमा सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेका बताउनुभयो ।

त्रिभुवन विमानस्थलको सुधार, अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध क्षेत्रीय विमानस्थलको विस्तार, तनहुँ जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजनाजस्ता बृहत् परियोजनामा नेपाललाई बैंकले सहुलियतपूर्ण ऋण तथा अन्य परियोजनामा अनुदान एवम् प्राविधिक सहायता उपलब्ध गराउँदै आएको स्मरण गराउँदै अध्यक्ष नाकाओले जल व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सिँचाइलगायत क्षेत्रमा बैंकले निरन्तर सहयोग गर्ने दृढता पनि व्यक्त गर्नुभयो ।
्
“विगतको तुलनामा गरिबीको अनुपात घटेको, लघुवित्त, वित्तीय व्यवस्थापन, मुद्रास्फीति नियन्त्रण, मातृ तथा बाल मृत्युदर कम गर्न नेपालले हासिल गरेको प्रगति उदाहरणाीय छ,”– मध्यम आययुक्त मुलुकमा रुपान्तरण हुन नेपाललाई अझै केही समय लाग्ने बताउँदै उहाँले भन्नुभयो ।

उहाँले निर्धारित मितिमा संविधान जारी नहुँदा खासै असर नपरेको र हतपतमा काम गर्नुभन्दा समय लिएर ठोस कार्य हुनु उपलब्धिमूलक हुने बताउँदै निकट भविष्यमा नेपालले समावेशी एवम् लोकतान्त्रिक संविधान पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँगको भेटमा उहाँले आफूलाई सहमतिमा संविधान बनाउन अहोरात्र लागिपरेको बताएको र नेपाल अब द्वन्द्व होइन आर्थिक विकासको बाटामा अग्रसर हुन चाहेको अभिव्यक्ति दिएकाले एडिबी मात्र नभई नेपालको विकासका साझेदार त्यसबाट उत्साहित भएका बताउनुभयो ।

भारतसँग हालै भएको विद्युत् खरिद–बिक्री सम्झौताले विद्युत् उत्पादन एवम् प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गरेको भन्दै उहाँले त्यसबाट लगानीकर्तासमेत प्रोत्साहित भएको बताउनुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष नाकाओले आगामी २०७३ भदौमा मेलम्ची खानेपानी आयोजना पूरा हुनेमा आफू ढुक्क रहेको र तनहुँ जलविद्युत् आयोजनाको काम पनि चाँडै प्रारम्भ हुने जानकारी दिनुभयो । अन्य आयोजनालाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न एडिबी प्रतिबद्ध रहेको बताउँदै उहाँले त्यसमा नेपाल सरकारबाट पनि सहयोग हुने अपेक्षा गर्नुभयो ।

यसैबीच यहाँस्थित एडिबी कार्यालयले चालु आवमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशतमा सीमित हुने र आगामी आवमा त्यो ५.२ प्रतिशतमा उक्लने प्रक्षेपण गरेको छ । सन् १९६६ मा स्थापित एडिबीको नेपाल संस्थापक सदस्य मुलुक हो । एसिया–प्रशान्त क्षेत्रका ६७ मुलुक एडिबीमा आबद्ध छन् । रासस