काठमाडौं, २ माघ । नेपालमा अहिलेसम्म औपचारिक र अनौपचारिक गरी दुई तरिकाले रकम भित्रिन्छ। अनौपचारिक या अवैधरूपमा भित्रिने रकम हुन्डी हो। अन्तरदेश कारोबारको अवैध विधि हो यो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
दुवै देशमा सम्पर्क व्यक्ति तोकेर यो कारोबार गरिन्छ। दक्षिण कोरियाबाट नेपाल पैसा पठाउन हुन्डीको त्यहाँको एजेन्टले नेपालको एजेन्टलाई खबर पठाउँछ। कोरियाको एजेन्टलाई पैसा दिएपछि नेपालको एजेन्टले सम्बन्धित व्यक्तिलाई पैसा दिन्छ। यसवापत एजेन्टहरूले निश्चित प्रतिशत कमिसन लिन्छन्।
नेपाल राष्ट्र बैंकले विदेशबाट पैसा पठाउन बैंकिङ च्यानलबाट रेमिट्यान्सको व्यवस्था गरेको छ। बैंकिङ च्यानल छलेर दलालमार्फत पैसा पठाउनु हुन्डी कारोबार हो। कम शुल्कको लोभमा मानिसहरू रेमिट्यान्स भन्दा हुन्डी रोज्छन्। हुन्डीबाट पठाउँदा पैसाको स्रोत खुलाउनुपर्दैन।
हुन्डी नियन्त्रण गर्न नसके यसले अर्थतन्त्रमा त असर पार्छ नै अपराध पनि बढाउने एसपी सिंह बताउँछन्। ‘नेपालबाट विभिन्न समयमा विदेश लैजान लागिएको लागुऔषध बरामद हुन्छन्। विदेश पुर्याइएका लागुऔषधको पैसा नेपालमा अवैध बाटोबाटै आउँछ’, सिंह भन्छन्, ‘त्यहीकारण हुन्डीलाई नियन्त्रण गर्ने अभियानमा हामी लागेका छौँ। हुन्डीको अवैध कारोबारले सुन तस्करी, लागुऔषध, हतियार र अन्य अपराधि गतिविधि हुने गरेको पाइन्छ।’
हुन्डीको रकम आतंकवाद, जाली नोट र मानव तस्करी जस्ता गम्भीर अपराधमा प्रयोग हुनसक्ने भन्दै प्रहरीका निकाय क्रियाशील भएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन्।















प्रतिक्रिया