९ कार्तिक २०८३, सोमबार

सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ। १० जनाभन्दा बढी पक्राउ परिसकेका छन्। अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुण्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानरीय अपराध महाशाखा सक्रिय छ। प्रदेश र जिल्ला प्रहरी पनि कारोबार रोक्न लागिपरेका छन्।

प्रहरीले आइतबार मोरङबाट ६९ लाख ५७ हजार छ सय रुपैयाँसहित तीनजना हुन्डी कारोबारी पक्रियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित आस्था नेपाल बुहुउद्देश्यीय सहकारी संस्थाबाटै हुण्डी कारोबार हुने गरेको थियो। सहकारीका अध्यक्ष विराटनगर–७ कै राजेश हेडा, विराटनगर–११ का सुमित साह र विराटनगर–१२ का दीपककुमार कर्णलाई समातिएको एसपी केसीले बताए।

‘हामीले यो प्रकरणमा लामो समयदेखि अनुसन्धान र फलोअप गरेका थियौँ’, उनी भन्छन्, ‘सहकारीका अध्यक्ष हेडाको कार्यकक्षबाट नगद ५९ लाख ७ हजार ६ सय रुपैयाँ बरामद भएको छ। संस्थाको आडमा हेडाले हुण्डी कारोबार गर्दै आएको खुलेको छ।’

प्रहरीले सहकारीबाटै सुमित साहको साथबाट ९ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ। उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थपेर इटहरीस्थित राजस्व अनुसन्धान विभाग पठाइने केसीले जानकारी दिए।

आइतबार नै काठमाडौँबाट अपराध महाशाखाको टोलीले ३५ लाख रुपैयाँ हुन्डी रकमसहित दुईजनालाई पक्राउ गरेको छ। न्युरोडबाट सुनिल श्रेष्ठ र भरत बस्नेत पक्राउ परेका हुन्। सोलुखुम्बु घर भई सानेपा बस्ने बस्नेतलाई बा७च २५६९ नम्बरको कारमा सवार भएको अवस्थामा रकमसहित समातिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए। बस्नेतले उक्त रकम विशाल बजारस्थित कन्टिनेन्टल मनी एक्सचेन्जका सञ्चालक श्रेष्ठको रहेको बयान दिए। त्यसपछि श्रेष्ठ पनि पक्राउ परे।