९ कार्तिक २०८३, सोमबार

यी हुन् रात्रिभोज दिने सात नेता 

10k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । महासमिति बैठकमा पार्टीले खुवाएको बिहानको एकछाक खानामा मात्रै ७० लाखभन्दा बढी खर्च भएको कार्यालय सचिव प्रेम केसीले बताए ।

प्रतिप्लेट ५ सय ५० रुपैयाँको खाना खुवाइएको थियो । उनका अनुसार पार्टी कोषबाट सबैभन्दा धेरै खर्च भएको पनि खानामै हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मञ्च सजावट, पार्टी प्यालेसको भाडा, बैठकमा दुईवटा डिजिटल डिस्प्लेका लागि दिनको ८० हजार लागेको थियो । मोटामोटी खर्च निस्कए पनि शीर्षकअनुसार पूरै विवरण तयार भइनसकेको केसीले बताए ।

महासमितिमा भाग लिन आएका सदस्यसँग एक हजारका दरले शुल्क लिएको थियो । १६ सय सहभागीबाट करिब १४ लाख उठेको थियो । यही पैसाबाट नगद कारोबार गरेको कांग्रेसले अरू खर्च पार्टी कोषबाट गरेको केसीले बताए ।

‘हामीले सुरुमा पाँच दिनका लागि १ करोड रुपैयाँ खर्च हुने आँकलन गरेका थियौं’ केसीले भने, ‘तर, बैठक ८ दिनसम्म चले पनि २० लाख मात्रै बढी खर्च भएको प्रारम्भिक हिसाब निकालेका छौं । यसमा दुई चार लाख मात्रै तलमाथि हुन सक्छ तर, यो भन्दा बढी खर्च भएको छैन ।’ महासमिति बैठकमा सहभागी झण्डै एक हजार ६ सय जनलाई पार्टीका ८ शीर्ष नेताले रात्रीभोज दिएपछि पनि खर्च कम भएको जानकारी उनले दिए ।

सभापति शेरबहादुर देउवाले २९ मंसिरमा उद्घाटन कार्यक्रम सकिएको रात रात्रीभोज दिएका थिए । देउवा जस्तै गरी आफ्नै व्यक्तिगत पैसामा नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता गोपालमान श्रेष्ठ गरी ७ नेताले रात्रीभोज दिएका हुन् ।

तर केही नेताहरूले पार्टीमा प्रभाव र शक्ति देखाउन नेताहरूले व्यक्तिगत रुपमा खाना ख्वाएको विषयलाई रुचाएनन् । केही नेताहरूले व्यक्तिगत रुपमा ख्वाइएको खानाभन्दै बहिष्कार पनि गरेका थिए ।