२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय लिगमा एपिएफले मोरङलाई ४–१ ले हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football

काठमाडौं, १९ माघ । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल एपिएफले मोफसलको टोली मोरङ फुटबल क्लबलाई ४–१ गोलले पराजित गर्दै विजयी भएको छ ।

दशरथ रङ्गशाला मैदानमा सोमबार भएको प्रतियोगितामा एपिएफले मोरङलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितामा पहिलो अग्रता भने मोरङले लियो । खेलको पहिलो चरणको ३६ आँै मिनेटमा मोरङका राज पौडेलले निशान लिम्बूको कर्नर पासमा गोल गरे । मोरङको १–० को अग्रता भने लामो समयसम्म टिक्न सकेन ।

खेलको ४१ औँ मिनेटमा एपिएफका अञ्जन विष्टले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अन्जनले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै एपिएफका रञ्जन विष्टले एक गोल थप्दै खेललाई २–१ को अग्रतामा ल्याए ।

खेलको पहिलो चरणसम्ममा २–१ ले अगाडि रहेको एपिएफले दोस्रो चरणमा दुई गोल थप्यो । खेलको ५९ औँ मिनेटमा रञ्जनले एकल प्रयासमा डिबक्स नजिकबाट थप एक गोल गर्दै आफ्नो नाममा व्यक्तिगत दुई गोल गरे ।

त्यस्तै खेलको ७१ औँ मिनेटमा एपिएफका कप्तान नवीन लामाले एक गोल थपेपछि एपिएफले मोरङमाथि ४–१ को सहज जित निकाल्यो । सो जितसँगै दुई खेल खेलेको एपिएफले चार अङ्क जोडेको छ भने समान खेल खेलेको मोरङ अङ्कविहीन छ ।