– यमबहादुर बम
धनगढी, १९ माघ । सामाजिक तथा जातिय छुवाछुत अन्त्यको सन्देश बोकेको नेपाली कथानक चलचित्र ‘सुनपानी’ यहि माघ २३ गते देशभर प्रदर्शनमा आउने भएको छ ।
गुन्जन एण्ड कुसुम फिल्मसले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी सत्य घटनामा आधारित चलचित्र ‘सुनपानी’ माघ २३ गते देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो ।
माघ २३ गते सुनपानीसंगै ‘लोग्ने मान्छे’ र ‘स्केप’ पनि प्रदर्शनमा आउने भएका छन् ।
सविन वास्तोला (गिरधारी) को डेब्यु निर्देशनमा जातीय विभेदको कथालाई लिएर बनाइएको ‘सुनपानी’ को निर्माता चेतबहादुर सिंह ‘राजा’ रहेका छन् ।
निर्देशक बास्तोलाले यसअघि ठूलो पर्दाका दर्जनौं फिल्ममा सहायक निर्देशन र सानो पर्दाका फिल्मको निर्देशन गरिसकेका छन्, भने राजा पनि दर्जनौं म्युजिक भिडियो, टेलिसिरियल र ठूलो पर्दाको फिल्ममा विभिन्न भूमिकामा अभिनय गर्दै आएका छन् ।

बागलुंगमा भएको छुवाछुतको सत्य घटनालाई लिएर निर्माण गरिएको चलचित्रमा मुलुकमा हुने जातिय तथा सामाजिक छुवाछुतलाई समेटिएको निर्माता सिंहले बताउनुभयो । २१औं सताव्दीमा आएर पनि वर्गिय, जातिय र सामाजिक छुवाछुत रहेकोले त्यसको अन्त्य हुनु पर्छ भन्ने सन्देश चलचित्रमार्फत दिइन खोजिएको उहाँले बतानुभयो ।
प्रेम र एक्सन चलचित्र बढी रहेपनि सामाजिक कथाको फिल्म हराउँदै जान थालेपछि सुनपानी बनाइएको निर्माता राजाले बताउनुभयो ।
उहाँका अनुसार चलचित्रमा सुदूरपश्चिमको देउडा गीतसंगै विभिन्न समुदायको स्थानीय भाषा समेत प्रयोग गरिएको छ । ‘सुनपानी’ को छायांकन भने नुवाकोटमा गरिएको छ । धनगढीको जोशी टाकिजमा माघ २३ गते फिल्म प्रदर्शन हुने बताइएको छ ।
सविन बास्तोला (गिरधारी) को कथा रहेको फिल्ममा कार्यकारी निर्माता रोशन बास्तोला र अलस्का सिंह तथा सह–निर्माता बुद्धिसागर खनाल र प्रकाश तिवारी रहेका छन् ।
छायांकन गणेशकुमार श्रेष्ठ, पटकथा र संवाद लक्ष्मण लम्साल र सविन श्रेष्ठ, नृत्य निर्देशन निशा शाह र कमल खालिङ, गीत र संगीत विमलराज क्षेत्री, गायन विमलराज क्षेत्री र देवी घर्ती, गीत संकलन विमल र सविन, सम्पादन विपीन मल्लको रहेको छ ।
फिल्ममा निर्देशक बास्तोला र निर्माता सिंहका साथमा नवीन तिमिल्सिना, आशा भुसाल, तारा केसी, अग्रज केसी, बद्धिसागर खनाल, दिलीप तामाङ, स्वस्तीका लामिछाने, निशा शाह, स्मृति पाण्डे, लक्ष्मण लम्साललगायतका कलाकारले अभिनय गरेका छन् ।













प्रतिक्रिया