२९ आश्विन २०८३, बिहिबार

नेटो सैनिक विमान दुर्घटनामा दशको मृत्यु, अफगानिस्तानमा सात सैनिक मारिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neto forceस्पेन/अफगानिस्तान, १३ माघ । सोमबार अपराह्नमा स्पेनको हवाई शिविरमा ग्रिकको एफ१६ विमान उडान भर्ने क्रममा भएको दुर्घटनामा १० व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अरु २१ जना घाइते भएका छन् ।
सो विमान नेटो सैनिकको रहेको बताइएको छ । नेटोको तालिम अभ्यासमा संलग्न सो लडाकू विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
यस दुर्घटनामा परी सैनिक सेवामा संलग्न दुई ग्रिक चालक र आठ फ्रान्सेली नागरिकको मृत्यु भएको स्पेनका प्रधानमन्त्री मारिआनो राजोएले सोमबार साँझ पुष्टि गर्नु भएको छ ।
त्यसैगरी सो दुर्घटनामा परी १० फ्रासेली र ११ इटालियन नागरिक पनि घाइते भएको जनाइएको छ ।
स्पेनको मध्य प्रान्त आल्बाकेटेको लोस ल्लानोसमा अवस्थित नेटोको हवाई शिविरमा स्थानीय समयाअनुसार १५ः १८ बजे सो दुर्घटना भएको जनाइएको छ ।
नेटोका महासचिब जनरल जेन्स स्टोल्टेनबेर्गले यस दुर्घटनाबाट आफु अत्यन्त दुखित भएको एक विज्ञप्तिमार्फत बताउनु भएको छ ।
यस दुःखद घटनाबाट नेटो परिवार नै प्रभावित भएको पनि उहाँले सो विज्ञप्तिमा उल्लेख गर्नुभएको बताइएको छ ।

–अफगानिस्तानमा सात सैनिक मारिए
यस्तै, अफगानिस्तानमा सोमबार बिहान सबेरैदेखि भएको छुट्टाछुटै आतङ्ककारी आक्रमणमा सातजना अफगान सैनिकको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।
तालिवानहरुले अत्याधुनिक हातहतियारको सहयोगबाट गरेको आक्रमणबाट गत २४ घण्टायता सातजना अफगान सैनिक (एएनए) को मृत्यु भएको सो मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको हो ।
यसैबीच सैनिकले पाक्टिका, हेलमान्ड, कान्दाहार, हेरात र निमरोज प्रान्तमा तालिवान विद्रोही विरुद्ध गरेको भिषण कारबाहीको क्रममा १५ तालिवानको मृत्यु भएको जनाइएको छ ।
सोही कारबाहीको क्रममा कयौं आतङ्ककारी पक्राउ पर्नुको साथै अन्य ६ घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ ।
सोही अवधिमा भारी मात्रामा विस्फोटक पदार्थ तथा विस्फोटका लागि सडक किनारमा राखिएका करिब ५१ वटा बम निष्क्रिय गरिएको गृह मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानमा गत डिसेम्बर ३१ बाट नेटो सैनिकले अफगान युद्धमा आफनो भुमिका अन्त्य भएको घोषणा गरेपछि सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षाकर्मीमा नै आएको छ ।