इस्लामावाद, १२ माघ । पाकिस्तान र अफगानिस्तानका सेनापतिबीच सुरक्षाको विषयलाई लिएर खुल्ला वार्ता सुरु भएको छ ।
सीमा सुरक्षा व्यवस्थापनमा केन्द्रित भई आतङ्कवादविरुद्ध सहकार्यको विषयमा सो वार्ता सुरु भएको सैनिक स्रोतले सोमबार जानकारी दिएको छ ।
अफगान सीमा प्रहरीका कमाण्डर लेफ्टिनेन्ट जनरल साफिक फज्लीको नेतृत्वमा १० सदस्य प्रतिनिधि मण्डल पाकिस्तानी समकक्षीसँग वार्ता गर्नका लागि पाकिस्तान पुगेका छन् ।
जनरल फज्ली, उप जनरल सेर अलि साहर्यार र अन्य आठ सीमा प्रहरी अधिकारी पाँचदिने औपचारिक भ्रमणका क्रममा आइतबार पाकिस्तान पुग्नुभएको हो ।
दश सदस्यीय ती सुरक्षा प्रतिनिधिले सीमा सुरक्षाको विषयमा छलफल गर्ने पाकिस्तानी सैनिकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
पाकिस्तानका दुई वरिष्ठ कमाण्डर अफगानिस्तानमा सीमा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन दुई देशबीचको सहकार्य छलफलका लागि अफगानिस्तानको भ्रमण गर्नुभएको थियो ।
सो भ्रमणको केही दिनपछि नै अफगान सुरक्षा अधिकारीको सो टोली पाकिस्तान पुगेका बताइएको छ ।
पाकिस्तानका लागि अफगानिस्तानका राजदूत जनान मोसाजाइका अनुसार शनिबार अफगान सुरक्षाबलले कुनार प्रान्तमा जारी राखेको कारबाहीका क्रममा करिब २०० आतङ्ककारी मारिएका छन् ।
पाकिस्तानी अधिकारीका अनुसार अफगानिस्तानको कुनार अन्य अफगान सीमा क्षेत्रमा पाकिस्तानी तालिवान लडाकूहरुले शरण लिएर बसेका छन् ।
गत डिसेम्बर १६ मा पाकिस्तानको पेसावरस्थित एक सैनिक विद्यालयमा तालिवानी आतङ्ककारी समूहले गरेको आमहत्यापछि पाकिस्तानी र अफगानिस्तानी सुरक्षा निकायले आतङ्ककारीविरुद्ध मिलेर लड्ने निर्णय गरेका छन् ।
सो आमहत्यामा १३० जना बालबालिका १० विद्यालयका कर्मचारीहरुको ज्यान गएको थियो ।













प्रतिक्रिया