दैलेख, ७ कात्तिक । दुल्लु नगरपालिका–३ सियालामा रहेको सागर होटेल सञ्चालकले पैसा चोरेको आरोपमा होटेलमा श्रमिकका रूपमा कार्यरत १२ वर्षीय बालकको हात भाँचिदिएका छन् ।
होटेलमा बालश्रमिकका रूपमा कार्यरत १२ वर्षीय प्रकाश बुढाथोकीको होटेल मालिक्नी शान्ति शाहीले दाउराले हानेर हात भाँचिदिएको स्थानीयले बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सल्यानको दार्मा गाउँपालिका–६ घर भएका बालक शाहीले दसैँमा घर जान साहुसँग काम गरेको ज्याला मागेका थिए । आफूले कमाएर राख्न दिएको १५ सय रुपैयाँसमेत साहुनीले नदिएपछि उनी दसैँमा पनि घर जान पाएका थिएनन् ।
पछि बालकले १५ सय चोरेको आरोपमा होटेल साहुनी शान्तिले बालकको हात टेबुलमा राखेर दाउराले हानेर भाँचिदिएको स्थानीयको भनाइ छ । दाउराले हान्दा बालकको देब्रे हातको नाडी भाँचिएको छ ।
हात भाँचिदिएपछि शान्तिले बालकलाई गलहत्याएर होटेलबाट निकालेको स्थानीयले बताएका छन् । हात भाँचिदिएपछि बालकको उपचार गर्न होटेल सञ्चालक शान्तिलाई आग्रह गर्दा उनले वास्ता गरेकी छैनन् ।
घटनाका विषयमा खबर गर्दा प्रहरीले पनि चासो नदिएको स्थानीय तेजबहादुर महतले बताए । घटनाको १८ दिनपछि मात्र साहुनीले बालकको हात भाँचिदिएको सार्वजनिक भएको छ । स्थानीय प्रहरीले पीडितको उद्धार नगरेको अधिकारकर्मीले बताएका छन् । १८ दिनपछि स्थानीयले दैलेख सदरमुकामको महिला तथा बालबालिका सेवा केन्द्रमा खबर गरेपछि मात्र घटना सार्वजनिक भएको हो ।
मंगलबार साँझ बालकलाई दैलेख सदरमुकाममा ल्याइएको छ । सदरमुकाममा बालकको उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको छ । तर, घटनामा संलग्नमाथि कारबाहीको कुनै प्रक्रिया थालिकएको छैन ।
होटेल मालिक्नीका पति सुरेश शाहीले बालकको उपचारका लागि नेपालगन्ज लिएर गएको दैलेख प्रहरीले जनाएको छ । शान्ति शाहीले रुपैयाँ चोरेको रिसको आवेसमा कुटपिट गर्दा हात भाँचिएको स्वीकारेकी छिन् ।















प्रतिक्रिया