कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धिप्लेमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत ९ गते बिहान करिब ८ः२० बजे स्थानीय २२ वर्षीय राजेन्द्र पौडेल आफ्नै घरदेखि करिब ५० मिटर पूर्वतर्फको बारीमा मृत अवस्थामा फेला परेका थिए। उनको शरीरभरि निलडाम तथा विभिन्न घाउचोट देखिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले स्थानीय पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पाश्वानका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय विक्रम पुन, २३ वर्षीय धनबहादुर गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन रहेका छन्।
मोबाइल हराएको विषयबाट विवाद सुरु
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कात्तिक ८ गते साँझ राजेन्द्रको मोबाइल हराएको विषयलाई लिएर विवाद सुरु भएको थियो। आफ्नी दिदीको घरमा पुगेका बेला उनले भिनाजु विष्णुप्रसाद गौतमसँग मोबाइल मागेका थिए। मोबाइल नदिएपछि उनले भिनाजुको मोबाइल फुटाइदिएको प्रहरीको भनाइ छ।
त्यसपछि राजेन्द्र र स्थानीय युवाहरूबीच मदिरा सेवनका क्रममा भएको विवाद थप चर्किएको थियो। विवादका क्रममा राजेन्द्रले लात्तीले प्रहार गरेको विषयलाई लिएर भनाभन भएको र उनले हँसियाले प्रहार गर्दा मिलन विकको घाँटी तथा आशिष गुरुङको खुट्टामा चोट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उक्त घटनापछि सबै आ–आफ्नो घर फर्किएका थिए। तर, सोही रात करिब ११ः१५ बजे आशिष गुरुङले विक्रम पुन र लिलबहादुर पुनलाई फोन गरेर बोलाएको अनुसन्धानबाट खुलेको छ।
त्यसपछि पाँच जना मिलेर राजेन्द्रको घरमा पुगेको र उनलाई भाटा, मुक्का तथा लात्तीले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। कुटपिटबाट घाइते भएका राजेन्द्रलाई घिसार्दै बारीमा लगेर छाडिएको प्रहरीको भनाइ छ।
पाँच दिनको म्याद थप गरी अनुसन्धान
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनालाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घटनाबारे नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको अनुसन्धान टोलीले थप अनुसन्धान गरिरहेको छ।















प्रतिक्रिया