काठमाडौं, ६ कात्तिक । प्रहरीका अनुसार नक्कली नोट छापी मालामाल बन्ने इन्द्रबहादुरको योजनापछि नारायण तरिका खोज्न ‘इन्टरनेट’ सर्चमा लागेका थिए ।
उनैको सिफारिसपछि इन्द्रबहादुरले वीरगन्जबाट ४० हजार रुपैयाँमा नोट छाप्ने मेसिन खरिद गरी काठमाडौं ल्याएका थिए । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जेलमा बनेको योजना इन्टरनेटबाट साकार गरिएको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘इन्द्रबहादुर सिरहा कारागारमा थिए । नक्कली नोट छाप्ने योजना उनलाई त्यहीँ फु(यो । त्यसपछि उनको भेट नारायणसँग भयो । उनले आफ्नो योजना नारायणलाई सुनाए । मालामाल हुने महत्वाकांक्षापछि नारायण नोट छाप्ने तरिका खोज्ने इन्टरनेट सर्चमा लागे । त्यसलगत्तै दुवैले मिलेर मेसिन खरिद गरेर सोही मेसिनबाट नक्कली नोट छापे,’ बोगटीले भने ।
प्रहरीका अनुसार उनीहरूले नक्कली नोट छाप्ने मेसिन कीर्तिपुर मच्छेगाउँ–४ स्थित कृष्णबहादुर क्षेत्रीको घरमा राखेका थिए । उनीहरू सोही घरमा डेरा गरी बस्दै आएका थिए । दुवैले पहिलो खेपमै उक्त मेसिनबाट हजार दरका पाँच लाख रुपैयाँ नक्कली नोट छापेका थिए । त्यसमध्ये ३ लाख ७० हजार रुपैयाँ मात्रै बरामद भएको छ ।
बाँकी एक लाख ३० हजार रुपैयाँ भने बजारमा गइसकेकाले प्रहरी अहिले सोही नोटको खोजीमा जुटेको छ । ‘यिनीहरूले पहिलो खेपमै पाँच लाख रुपैयाँ नक्कली नोट छापे पनि त्यसमध्ये एक लाख तीस हजार अझै फेला परेको छैन । हाम्रो अनुसन्धानले यो रकम बजार गएको देखाउँछ । यसको खोजीमा प्रहरी जुटिरहेको छ,’ परिसर प्रवक्ता डिएसपी बोगटीले भने ।















प्रतिक्रिया