एजेन्सी/नयाँ दिल्ली, १२ माघ । विश्वको ठूलो प्रजातन्त्र मानिने भारतमा गणतन्त्र दिवस मनाउन सोमबार विशेष समारोहको आयोजना गरिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतमा सोमबार मनाउन लागिएको सो गणतन्त्र दिवसको प्रमुख अतिथि रहनुभएको छ ।
उहाँ यसरी भारतीय गणतन्त्र दिवसमा प्रमुख अतिथि बन्ने प्रथम अमेरिकी राष्ट्रपति हुनुहुन्छ । राष्ट्रपति ओबामा आइतबार भारत आउनुभएको हो ।
भारतमा सोमबार गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको विशेष समारोहको समाचार तथा दृश्यहरु भारतका विभिन्न टेलिभिजनले प्रशारण गरिरहेका छन् ।
सो समारोहका लागि भारत सरकारले यसपटक अमेरिकी राष्ट्रपतिलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको हो ।
राजधानी नयाँ दिल्लीस्थित राजपथमा विशेष सैनिक परेडको आयोजना भएको छ । भने हवाई गस्तीका लागि सेनाका कयौँ विमान उडिरहेका छन् ।
भारतभर सोमबार सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । भारतीय सैनिकले विभिन्न सांस्कृतिक प्रदर्शनीका साथै कलात्मक प्रस्तुति प्रदर्शन गरिरहेका छन् ।
भारत सन् १९४७ को अगस्ट १५ मा बेलायती साम्राज्यबाट स्वतन्त्र भएपछि त्यसको तीन वर्षपछि अथवा सन् १९५० मा नयाँ संविधान जारी गरेको थियो र त्यसै समयमा भारत गणतन्त्र घोषणा भएको थियो ।
सोमबार भारतको विशेषगरी पाकिस्तानलगायत अन्य क्षेत्रसँगको सीमा क्षेत्रमा पनि व्यापक सुरक्षा अपनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिसाले घेरेको विशेष सुरक्षित कक्षबाट सैनिकद्वारा प्रस्तुत गरिएका कलाकौशल हेरिरहनुभएको छ ।
सोमबार नयाँ दिल्लीका प्रायः कयौँ क्षेत्रमा उडान निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको छ । ती क्षेत्रमा सार्वजनिक सवारी साधन पनि चलेका छैनन् भने विशेष सुरक्षा व्यवस्थास्वरुप कम्तीमा पनि १५ हजार सिसी क्यामेरा जडान गरिएका छन् ।
यस समारोहमा अमेरिकी राष्ट्रपति ओबामालाई प्रमुख अतिथि बनाइनुले पनि निक्कै महत्व पाएको महसुस भारतभरि गरिएको प्राप्त विभिन्न समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपतिलाई प्रमुख अतिथि बनाइनुले अमेरिका र भारतबीचको सम्बन्ध आगामी दिनमा थप सुमधुर हुने अनुमान गरिएको विश्लेषकहरु बताउँछन् ।














प्रतिक्रिया