
काठमाडौं, १२ माघ । भारतमा आज (सोमबार) ६६ औं गणतन्त्र दिवस भव्यताका साथ मनाईदै छ । कडा सुरक्षाबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रमुख आतिथ्यमा भारतले धुमधामका साथ ६६ औं गणतन्त्र दिवस मनाउन लागेको हो ।
नयाँ संविधान जारी भएको सम्झनामा हरेक बर्ष २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउने गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा ऐतिहासिक राजपथमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा अमेरिकी राष्ट्रपति बाराक ओबामा सहभागी भएका छन् । प्रमुख अतिथि राष्ट्रपति ओबामा गणतन्त्र दिवस समारोह स्थल पुगीसकेका छन् ।
कार्यक्रममा जल, स्थल र वायु सेनाले शक्ति प्रदर्शन गर्ने कार्यक्रम छ । महिला सेनाहरुको प्रस्तुती विशेष आकर्षणको रुपमा राखिएको छ । यसलाई महिला सशक्तिकरणको रुपमा हेरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै महिलाको शक्ति प्रदर्शन गराएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।
जमिनबाट आकाशमा मार हान्ने मध्य दुरीको आकाश मिसाइल लगायतका लडाकु विमान र हतियार पत्ता लगाउने राडारको प्रदर्शनीलाई समेत प्रमुख आकर्षणको रुपमा राखिएको छ । गणतन्त्र दिवसको अवसरमा भारतभरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
दिल्लीमा मात्रै हजारौ सुरक्षाकर्मी तैनाथ गरिएको छ । पाँच घेरामा सुरक्षा अलर्ट राखिएको छ ।
आकाशमा जहाजले सुरक्षा प्रदान गरिरहेको छ । गणतन्त्र दिवसमा कुटनीतिक नियोगका पदाधिकारीको बाक्लो उपस्थिती रहेको छ । आइतबार साझ राष्ट्रपति ओबामाले भारतीय राष्ट्रपति प्रणम मुखर्जीलाई भेटेका थिए । ओबामाको सम्मानमा रात्रीभोजको आयोजना समेत गरिएको थियो ।















प्रतिक्रिया