२१ कार्तिक २०८३, शनिबार

लागूऔषधको दुर्व्यसनी बढेको भन्दै धनुषामा सबै भए एकजुट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनुषा, २६ असोज । जिल्लामा लागूऔषधको दुर्व्यसनी बढेको भन्दै लागूऔषध रोकथाम र नियन्त्रणका लागि धनुषामा सबै एकजुट हुने भएका छन् भने जिल्ला प्रहरी कार्यालय धनुषाले लागूऔषध विरुद्ध निरन्तर रुपमा अभियान चलाउने भएको छ ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार जिल्लामा सवारी साधन दुर्घटना अपराध हुनुको प्रमुख कारण लागूऔषध देखिन आएकाले प्रहरीले दुर्व्यसनविरुद्ध जिल्लाभरी अभियान चलाउन लागेको हो । प्रहरीको यस अभियानलाई स्थानीय जनप्रतिनिधि, नागरिक समाज , विभिन्न सँघसँस्था, व्यापारी, पत्रकारहरुले साथ दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

धनुषाको ढल्केवरमा ईलाका प्रहरी कार्यालय ढल्केवरले आयोजना गरेको दुर्व्यसनी विरुद्धको कार्यक्रममा भएको उत्साहजनक सहभागिताले प्रहरीको यो अभियानलाई थप उर्जा मिलेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले गरेका थिए । कार्यक्रम सुरु हुनु अघि लागूऔषध विरुद्ध विभिन्न नाराजुलुस सहित मिथिला नगरपालिकाका मेयर, वडाअध्यक्षहरु र स्थानीय जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी लामिछाने, प्रहरी उपरीक्षक थपलिया, स्थानीय संघसंस्था, विद्यार्थी, व्यापारी र पत्रकार लगायतले ढल्केवर बजार परिक्रमा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले मदिरा र लागूऔषधका सेवनकर्ता बढेको भन्दै लागूऔषध विरुद्ध सबैलाई एकजुट हुन आग्रह गरे । आफ्ना छोराछोरी लागूऔषधमा फसे नफसेकोतर्फ सचेत रहन मेयर महतोले अभिभावकहरुलाई आग्रह गरे । ‘विद्यालय हिडेको तपाईको सन्तान विद्यालय गएको छ की कतै अलमल्लिईरहेको छ भन्ने कुराको संवेदनशिल भएर ख्याल गर्नु होला’, मेयर महतोले आग्रह गर्दै भने, ‘अभिभावकको नाताले आफ्नो सन्तान अध्ययनरत विद्यालयमा गएर छोराछोरीको बारेमा नियमित जानकारी लिने गर्नु एक असल अभिभावकको कर्तव्य हो, के थाहा विद्यायलय जान्छु भनेर घरबाट निस्किएको तपाईको सन्तान साथीभाईसँग लागूऔषध सेवन गर्न विद्यालय नगई अन्यत्र पो जाने गरेको छ कि ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य समेत रहेका मेयर महतोले मुलुकमा फौजदारी र देवयानी ऐन लागू भईसकेकाले महिलाहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । लैंगिक असमानताको खाडललाई पुर्नकै लागि नगरपालिकाले ‘मिथिलाको चाहना, घरघरमा साहना’ भन्ने नाराका साथ महिला केन्द्रित कार्यक्रम चलाएको र यस कार्यक्रमलाई निरन्तरता दिने मेयर महतोले बताए ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले प्रत्येक वडामा लागूऔषध नियन्त्रण गर्नका लागि समिती गठन गर्न जनप्रतिनिधीलाई आग्रह गरे । धनुषाका प्रहरी उपरीक्षक थपलियाले अधिकांश अपराधका घटना र सवारी दुर्घटना लागूऔषध सेवनका कारणले हुने गरेको जानकारी दिदै सामाज र परिवारमा झैझगडा हुने मुख्य कारण पनि लागूऔषध नै रहेको बताए ।

प्रहरी उपरीक्षक थपलियाले भने, ‘लागूऔषध भनेको साईलेन्ट किल्लर हो, यसका विरुद्ध समाजका सबै वर्ग र समुदाय एकजुट भएर लाग्नु पर्छ ।’ धनुषा प्रहरीले लागूऔषध विरुद्धको अभियानलाई निरन्तर जारी राख्ने बताएको छ ।