
काठमाडौं । आजभोली भीआइपी र तिनका सेक्युरिटी सिनेमा घरभित्र वा बाहिर कतै देखिए भने नतर्सिनुहोला । बरु, मख्ख परेर सेल्फि खिचे हुन्छ । किनकी यसै साता रिलिज भएको छ फिल्म ‘अनुराग’ ।
यसले व्यावसायीक सफलता र रकम कलेक्शन कति गर्ला त्यो बक्स अफिसले जनाउने छ । तर, गज्जबको कामचाहीँ नेता, कर्मचारी, व्यापारीमात्र होइन, सरकारका मन्त्री, राष्ट्रिय सभाका अध्यक्षसमेत हलमा पुगेका छन् । कारण– पत्रकार ऋषि धमलाको निर्माण ।
पत्रकारिता क्षेत्रमा ऋषिको सक्रियता जति हुन्छ त्यति नै कुरा काट्ने पनि भेटिन्छन् । तर, उनी रोकिँदैनन् । आजभोली ऋषिलाई दैनिकको राजनीतिक घटनाक्रम, देशका विषयमा भन्दा पनि फिल्मका विषयमा नै सक्रिय हुने रहर पनि जागेको छ । कारण– उनी निर्माता पनि बनेका छन् । निर्माण गरेको फिल्म ‘अनुराग’ शुक्रबारदेखि हल–हलमा लागेको छ ।
फिल्म निर्माणमा जुटेका ऋषिको राजनीतिसँगको सम्बन्ध कतिसम्म गहिरो रहेछ भने उनले देशका राजनीतिक नेता र विशिष्ट पाहुनालाई पनि हलमा पुराई छाडे । दैनिक नेपालले ऋषिलाई सोध्यो– नेताहरू तानेर हलसम्म पुराउने ? सटिक उत्तर दिए,‘नेताहरू आफैं आउँछन् । पैसा तिरेर टिकट काटेर फिल्म हेर्छन् । मैले के गरूँ ?’
ऋषि निर्मित फिल्म हेरेर विशिष्टहरूले प्रतिक्रिया पनि दिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले लामो समयपछि हलमा फिल्म हेरे । अनुराग हेरिसकेपछि उनले भने,‘यो फिल्म सफल हुन्छ ।
उनले सिभिल मलमा रहेको क्युएफएक्स सिनेमामा फिल्म हेरेका थिए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको त कुरै छाडौं । उनले त ऋषिको फिल्मले रुवाएकै प्रतिक्रिया दिए । अध्यक्ष तिमिल्सिनासँगै मन्त्री पण्डित र उनकी धर्मपत्नी, बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य, सांसदहरू, बरिष्ठ अधिवक्ताहरू, मानवअधिकारकर्मीहरू र गायक तथा गायिकाहरूको उपस्थिति रहेको थियो ।
यतिमात्र होइन, अनुरागको शो हेर्नका लागि पूर्वप्रधानमन्त्री झलनान खनाल, प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फे सिटी सेन्टरमा पुगेका थिए । खनालले भने,‘अनुराग अत्यन्तै सवल चलचित्र बनेको छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सहमहामन्त्री डा. प्रकाशशरण महतले अनुराग सफल हुने बताए । उनले सिभिल मलको क्वि.एफ.एक्स हलमा पुगेर अनुराग हेरेपछि उनले पत्रकारहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
बरिष्ठ कलाकार हरिवंश आचार्यले पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग आफूलाई अत्यन्तै राम्रो लागेको बताए ।
पूर्वउपप्रधानमन्त्री सीपी मैनाली पनि अनुराग हेर्नबाट उम्कन पाएनन् । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव मैनाली सिटी सेन्टर पुगेका थिए । महासचिव मैनालीले बजारमा अनुरागको चर्चा तथा परिचर्चा निकै रहेकाले आफू टिकट काटेरै फिल्म हेर्न आएको संक्षिप्त प्रतिक्रिया दिए ।
अरु त अरु कांग्रेस नेता चन्द्र भण्डारी जीवनमै सिनेमा घर छिरेका थिएनन् । ऋषिको फिल्म हेर्न पुगे ।
ऋषिले नै चलचित्र बनाएको र उनकी श्रीमतीको मुख्य अभिनय रहेकोले आफू हलमै चलचित्र हेर्न आएको कांग्रेस नेता भण्डारीले प्रतिक्रिया दिए । उनले भने,‘मैले अहिलेसम्म नेपाली चलचित्र हलमै आएर हेरेको छैन, ऋषिजीको यो चलचित्र अनुराग नै मेरो हलमा हेरेको पहिलो चलचित्र हो । देशकै चर्चित पत्रकारले यसरी मुभी बनाएपछि म हेर्न आएको हुँ ।’
कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी कुमारी हल पुगे ।















प्रतिक्रिया