काठमाडौँ, ८ माघ । सत्तारुढ दलका शीर्ष नेताले सहमतिका लागि अधिकतम लचकता अपनाउँदा पनि समाधान ननिस्केपछि अब प्रक्रियामा जानाको विकल्प नरहेको प्रतिक्रिया दिनुभएको छ ।
अवरूद्ध स्थितिमा रहेको संविधानसभाको जारी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँहरुले दुई तिहाई बहुमत हुने शक्तिले सकेसम्म सहमतिका लागि पहलन गर्नु सकारात्मक भए पनि विपक्षी सहमतिमा नआउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूहरुले सहमतिका लागि हदैसम्म लचकता अपनाए पनि कुनै निचोड निस्कन नसकेकाले प्रक्रियाबाटै संविधान जारी गरिनुपर्ने बताउनुभयो । देउवाले प्रश्न गर्दै भन्नुभयो, ‘दुई तिहाई सङ्ख्यामा रहेको शक्तिले सहमतिका लागि यति धेरै लचकता देखाएको स्थिति अहिलेसम्म दुनियाँमा कहीँ छ ?’
उहाँले आजको दोस्रो बैठक बस्नुअघि सभाध्यक्ष सुवास नेम्वाङको पहलमा भएको दलका नेतासँगको बैठकमा मधेसी जनाधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले हालसम्म सहमति भएका न्याय तथा निर्वाचन प्रणाली र शासकीय स्वरुपबारे मस्यौदा समितिमा पठाउने तथा सङ्घीयताबारे आगामी केही महिनाभित्र छ – नौ प्रदेश हुने गरी सहमति गर्ने भनी राखेको प्रस्तावलाई एमओवादीसहितको मोर्चाले नै अस्वीकार गरेका कारण सहमति हुन नसकेको देउवाले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले आज संविधान जारी भनेर तोकिएको दिन कम्तीमा मुख्य दलका नेताले संयुक्त वक्तव्य दिएर सहमतिको सन्देश दिने प्रस्ताव गर्दा पनि कुरा मिल्न नसकेको बताउँदै अब प्रक्रियामा जानाको विकल्प नभएको बताउनुभयो ।
नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधान निर्माणमा विपक्षीले जारी गरेको अवरोध अलोकतान्त्रिक भएको बताउँदै संविधान किन आएन भन्ने एक प्रश्नमा भन्नुभयो, “स्पष्ट छ एमाओवादीका कारण आएन नि ।”
उहाँले सहमतिका लागि गरिएको प्रयास सफल हुन नसकेकाले अब प्रक्रियाबाट निकास निकाल्नुपर्ने, एमाओवादीले संविधानसभामा गर्दै आएको तोडफोड र अवरोधका प्रति माफी माग्नुपर्ने बताउनुभयो ।
यसैगरी अर्थमन्त्री डा रामशरण महतले संविधानसभामा विपक्षीले संविधान जारी गर्न अवरोध गरिरहेको भन्दै जनादेशविपरीत निर्णय हुन नसक्ने बताउनुभयो । जनादेश आफूहरुको पक्षमा रहेकाले आफूहरुको प्रस्तावअनुसार प्रक्रियामा जान पाउनुपर्ने तर्क उहाँले राख्नुभयो ।
संविधानसभाको आजको दोस्रो बैठकमा एमाओवादी र मधेसकेन्द्रित दलका सभासद्ले नाराबाजी र अवरोध कायमै राखका छन् भने सत्तारुढ दलका सभासद्ले ताली र ठूलो स्वरले प्रक्रियामा अघि बढ्न सभाध्यक्ष नेम्वाङलाई दबाब दिन थालेका छन् । बैठकस्थलबाट सत्तारुढ दलका अधिकांश शीर्ष नेता बाहिरिसक्नुभएको छ भने एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई र मधेसकेन्द्रित नेताहरू नाराबाजीमै हुनुहुन्छ । बैठकमा ठूलो सङ्ख्यामा मर्यादापालक खटिएका छन् । रासस















प्रतिक्रिया