काठमाडौं, ८ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत यही हप्ताभित्र संविधान आउने बताउनुभएको छ ।
संविधानसभा बैठकबाट बाहिरिने क्रममा नेता खनालले एमाओवादीलगायतको मोर्चाले संविधानका अन्तर्वस्तुमा मेरो गोरुको बाह्रैटक्का गरेका कारणले सहमति जुट्न नसकेको भन्दै संसारमा कहीँ पनि पूर्ण सहमतिको संविधान नआएको विचार व्यक्त गर्नुभयो ।
“बुद्धको जस्तै मन र धैर्य लिएर नेपाली काँग्रेस र एमालेले संविधानसभाबाटै संविधान ल्याई छाड्नेछन्, संविधान नल्याइकन संविधानसभा विघटन हुन सक्दैन,” नेता खनालले भन्नुभयो, “माओवादी वार्तामा नआई सहमति हुन सक्दैन ।”
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तत्काल एकीकृत नेकपा (माओवादी)लगायत मधेसकेन्द्रित दलसँग वार्ता र संवाद आवश्यक नभएको बताउनुभएको छ ।
संविधानसभाको आजको बैठक अवरुद्ध भएपछि पत्रकारसँग कुरा गर्दै नेता पौडेलले संविधान निर्माणका सन्दर्भमा उनीहरुको बोली र व्यवहारविपरीत रहेकाले अहिले वार्ता आवश्यक छैन भन्नुभयो । गत सोमबार राति एमाओवादी मोर्चासँग आबद्ध दलबाट संविधानसभाका अध्यक्षलगायत पार्टीका नेतामाथि नियोजित रुपमा आक्रमण गर्ने प्रयास गरेर संविधान निर्माणमा अवरोध सिर्जना गरेको आरोप पौडेलले लगाउनुभयो ।
“साढे चार सयको सङ्ख्यामा संविधान निर्माण प्रक्रिया सुरु गर्न सभासद्को हस्ताक्षरसहित सभाध्यक्षलाई ज्ञापनपत्र बुझाइएको छ, अब संविधानसभाका अध्यक्षले उचित निर्णय लिनुहुनेछ भन्ने विश्वास लिएका छौ,” पौडेलले भन्नुभयो । संविधानसभा नियमावलीको व्याख्या, लागू एवम् कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मा सभाध्यक्षलाई हुन्छ भन्दै उपसभापति पौडेलले त्यसबारेमा उहाँले उचित निर्णय लिनुहनेछ भन्ने धारणा व्यक्त गर्नुभयो ।
एमाओवादीका नेता हरिबोल गजुरेलले जारी अवरोधलाई अन्त्य गर्न दलबीच सहमतिको प्रयास हुनुपर्ने र तिनले संवाद, सहमति र छलफलको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “संविधानसभालाई ब्यारेक बनाउने काम भएको छ, सभासद्लाई कडा सुरक्षा जाँच गरिएको छ यसले समस्या झन थपेको छ,” गजुरेलले भन्नुभयो ।
















प्रतिक्रिया