झापा, ८ माघ । झापाको सदरमुकाम चन्द्रगढीमा जिल्ला प्रशासन कार्यालय घेराउका लागि पुगेका आन्दोलनरत एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताहरु र प्रहरीबीच झडप भएको छ ।
झडपमा एमाओवादीका जिल्ला अध्यक्ष धर्मशीला चापागाईं, सदस्य गगन पुरी, राम लुइँटेल, संघीय समाजवादीका जिल्ला अध्यक्ष धिरेन लावती, गंगा रायमाझी, लिम्बुवान पार्टी नेपालका संघर्ष समिति संयोजक सञ्जुहाङ पालुङवा लगायत डेढ दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् । उनीहरुको उपचारका लागि अस्पताल भर्ना गर्ने क्रम चलिरहेको मोर्चामा सहभागी संघीय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष दिपेनवाला राईले जानकारी दिए । उनले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम अनुसारनै तय भएको आन्दोेलनमा प्रहरी दमन भएको आरोप लगाए ।
सत्ता पक्षको पनि प्रदर्शन
यता, संविधानसभा भवनमा एमाओवादी र मधेसी मोर्चाका सभासदहरुले मच्चाएको तोडफोड र विध्वंसका कारण दलहरुबीचको वार्ताको बातावरण र संविधान निर्माणका लागि प्रक्रियामा जाने बाटो समेत अवरोध पुगेको भन्दै सत्तारुढ दलका भातृ संगठनहरुले संयुक्त विरोध प्रदर्शन गरेका छन् । बिहीबार दिउँसो दमक चोकबाट सुरु भएको जुलुस बजार परिक्रमा पछि पुनः गणतन्त्र चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
जुलुसमा सहभागीहरुले वन्द हड्ताल सँधैका लागी अन्त्य गर्न, दिगो शान्ति स्थापना गर्न र सवैलाई मान्य हुने संविधान ल्याउन माग गरे । सभालाई राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सदस्य प्रकाश सुवेदी, नेवि संघ झापाका सभापति रोशन विष्ट, तरुण दलका केन्द्रीय पार्षद भूमि राई, अनेम संघकी जिल्ला सदस्य लिला दाहाल, अनेरास्ववियूका जिल्ला सदस्य सुमन वञ्जरा लगायतले सम्बोधन गर्दै माओवादी र मधेसी मोर्चाका सभासदहरुले संविधान र शान्ति नचाहेको आरोप लगाए । उनीहरुले एकल जातिय पहिचानको नारा दिएर विखण्डन ल्याउन खोजेको पनि आरोप लगाए ।
















प्रतिक्रिया