बाबियाचौर (म्याग्दी), ८ माघ । म्याग्दीलगायत पश्चिम नेपालको पाँच जिल्लालाई समेटेको विश्व प्रसिद्ध पर्यटकीयस्थल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को समयअवधि पाँच वर्ष थपिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सन् १९९३ देखि सञ्चालित आयोजनाको सन् २०१२ मा दुई वर्षका लागि थपिएको म्याद यही माघ महिनादेखि सकिनुअगावै वन मन्त्रालयले आयोजनालाई निरन्तरता दिने निर्णय गरेको हो ।
पाँच वर्षका लागि आयोजनालाई नै निरन्तरता दिने निर्णय भएको वन मन्त्रालयले जनाएको छ । स्थानीयले परियोजनालाई निरन्तरता दिनुपर्ने र त्यसो नभए पर्यटन शुल्क, जडीबुटी व्यवस्थापनलगायतका अधिकारसहित एक्याप व्यवस्थापनको जिम्मेवारी समुदायलाई हस्तान्तरण गर्न माग गरेका थिए ।
समुदायले जिम्मेवारी लिन चाहेपनि पूर्णरुपमा सक्षम नदेखिएकाले एक्याप आयोजनालाई नै निरन्तरता दिएको वन मन्त्रालयले जनाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले म्याग्दीको शिख, घार, नारच्याङ गाविससहित मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लाको ५७ वटा गाविसलाई समेटेको छ ।
वन मन्त्रालयको निर्णयले आयोजना प्रभावित क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । मन्त्रालयको निर्णयलाई सकारात्मक रुपमा लिएको एक्यापअन्तर्गत शिखमा गठित गाविसस्तरीय संरक्षण व्यवस्थापन समितिका अध्यक्ष बागवीर पाइजाले बताउनुभयो ।
एक्यापको म्याद सकिएपछि राष्ट्रिय निकुञ्ज, अथवा मध्यवर्ती क्षेत्र बनाउने वन मन्त्रालयको मस्यौदाको समुदायले विरोध गरेका थिए । समुदायलाई सक्षम बनाएर आयोजना व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने अध्यक्ष पाइजाले बताउनुभयो ।
एक्यापले पर्यटन प्रवद्र्धन, व्यवस्थापन, जैविक विविधता र वातावरण संरक्षण तथा सामुदायिक विकास गतिविधिमा समुदायलाई सहयोग गर्दै आएको छ । वार्षिक एक लाखभन्दा बढी विदेशी पर्यटकले भ्रमण गर्ने एक्याप आयोजनाको प्रमुख आयस्रोत पर्यटक प्रवेश शुल्क हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने सार्क देशका नागरिकले रु २०० र अन्य देशकाले रु दुई हजार एक्यापलाई प्रवेश शुल्क तिर्नुपर्छ । सन् २०१४ मा एक लाख २९ हजार जना विदेशी पर्यटकले एक्याप क्षेत्रका पर्यटकीयस्थलको भ्रमण गरेका थिए । रासस
















प्रतिक्रिया