मोहिनी मिश्र रिसाल
काठमाडौँ, ३ माघ । पूर्वीय दर्शन वा सनातन वैदिक हिन्दु मतअनुसार संसारमा मानव सहित ८४ लाखभन्दा बढी जाति, प्रजाति, उपजातिका प्राणधारी जीव, जीवात्माको अस्तित्व छ । अर्को शब्दमा, मनुष्य, पशु, पक्षी, कीट, पतङ्ग, जलचर, स्थलचर, उभयचर, नभचर समेत ८४ लाख प्रकारभन्दा बढी जीवको घर नै यो विश्व हो ।
परापूर्वकालदेखि नै मानिसले दया, माया, स्नेह, करुणा, जीवप्रेम, सोख, मनोरन्जन, पारख, साहसिक खेल, लहडबाजी र पेशा वा व्यवसाय जस्ता कारणबस पशु, पक्षी, कीट, पतङ्ग इत्यादि पाल्ने, खुवाउने, हुर्काउने, बढाउने, जातअनुसारको तालिम दिने, तिनीहरूसँग खेल्ने, रमाउने, तिनीहरूलाई नचाउने वा विभिन्न क्रियाकलापमा संलग्न गर्ने र त्यसबाट आर्थिक वा अन्य लाभ, आनन्द वा शान्ति प्राप्त गर्ने गरेको छ ।
मानिसले पाल्ने पशु, पक्षी, कीटबर्गमा गाई, भैँसी, साँढे, गोरु, राँगो, उँट, हात्ती, घोडा, गधा, सुङ्गुर, बङ्गुर, बाँदर, बाघ, भालु, भेडा, बाख्रा, कुकुर, बिरालो, मुसो, खरायो, न्याउरीमुसो, कुखुरा, टर्की, लुईंचे, लौकाट इत्यादि जस्ता स्थलचर प्राणी, माछा, कछुवा, हाँस, सर्प, भ्यागुता इत्यादि जस्ता जल(स्थलचर प्राणी, परेवा, मलेवा, सुगा, मैना, कौवा, सारौँ, लाटोकोसेरो, हुच्चिल इत्यादि जस्ता नभचर प्राणी, बिच्छी, गोब्रेकिरा, गँड्यौला, इत्यादि जस्ता कीट पतङ्ग नै प्रमुख रूपमा रहेका छन् ।

यी पशुपक्षीमध्ये अमेरिका, युरोप, अस्ट्रेलिया तथा जापान जस्ता विकसित मुलुकमा बहुसङ्ख्यक मानिसले विभिन्न जाति, प्रजातिका कुकुर वा बिराला पाल्ने गरेको पाईन्छ । विश्वमा घरेलु बिरालाको सङ्ख्या यत्ति नै छ भन्ने आजसम्म यकिन तथ्याङ्क नपाइए पनि अमेरिकामा मात्र छ करोड चालीस लाखभन्दा बढी बिराला छन् भनी जनाबरसम्बन्धी अनुसन्धान गर्ने एउटा अन्तर्राष्ट्रिय संस्थाले हालै प्रकाशन गरेको एक आलेखमा उल्लेख गरेको छ ।
दाह्रा, नङ्ग्रा, खुट्टा र शरीरको बान्की वा बनौट, स्वभाव, आफ्नो सिकारउपर आक्रमण गर्ने शैली, इत्यादि सबै प्रकृति र लक्षण विचार गरेर आधुनिक जीव विज्ञानले भीमकाय र देख्दै डरलाग्दा सिंह, बाघ, चितुवा जस्ता ठूला हिंस्रक जनाबरदेखि ससाना बिरालासम्मलाई मार्जार वंश (क्याट फ्यामिली) मा बर्गीकृत गरेको छ ।
विश्वमा हालसम्म फेलापरेका ३८ थरी प्रजातिका प्राणी क्याट फ्यामिली बर्गमा परेका छन् । यिनमा अफ्रिकन गोल्डेन क्याट, एसियाटिक गोल्डेन क्याट, एन्डियन माउन्टेन क्याट, चाइनिज माउन्टेन क्याट, ब्ल्याक फुटेड क्याट, बब (टम) क्याट, बोर्निओ बे क्याट, क्यानेडियन लिङ्क्स, क्यार्याकल, चिताह, क्लाउडेड लियोपार्ड, युरेसियन लिङ्क्स, फिसिङ क्याट, फ्ल्याट हेडेड क्याट, जियोफ्र्वाइज क्याट, आइबेरियन लिङ्क्स, जगर, जगरुन्डी, जङ्गल क्याट, कोडकोड, लियोपार्ड, लियोपार्ड क्याट, लायन, मार्बल क्याट, मार्गे, ओसिलोट, ओन्सिल्ला, पालास क्याट, पाम्पास क्याट, पुमा, रस्टिस्पोट्टेड क्याट, स्यान्ड क्याट, सर्भल, स्नो लियोपार्ड, टाइगर, लाइगर, प्यान्थर, वाइल्ड क्याट भन्ने नामाकरण गरिएको पाइन्छ ।
हिन्द महासागरको पूर्वीय तथा उत्तरी प्रशान्त महासागरको पश्चिमी खण्डमा पर्ने दक्षिणी चीन सागरको पश्चिममा पर्ने थाइ तथा मलेसियाली प्रायद्विपमा अवस्थित महानगरीय राष्ट्र सिङ्गापुरमा गत ९ जनवरीदेखि अवलोकन गर्न सर्वसाधारणका लागि खुला गरिएको र विभिन्न प्रजातिका जीवित बिराला राखिएको सङ्ग्रहालय नै विश्वकै पहिलो बिरालो सङ्ग्रहालय मानिएको छ ।
स्वनामबाटै परिचय खुल्ने राष्ट्र अर्थात् सिंहको नगर सिङ्गापुरका सबैजसो सडक र गल्लीमा बाहिरी देशबाट आउने पर्यटक बाहेक त्यहाँका रैथाने प्रायः तीन थरी आदिवासी: चिनियाँ मूलका, भारतीय (बहुसङ्ख्यक दक्षिणभारत) मूलका र मलेसियाली मूलका जनजाति भेटिन्छन् । तर गत ९ जनवरीका दिन सिङ्गापुरका मुख्यमुख्य सडक र गल्लीमा मानवदेखि भिन्दै जाति: विभिन्न रङ, रूप, जिउडालका, थरीथरीका सयौँ घरपालुवा बिरालाको लर्को देखिएको थियो ।
यी बिराला स्वयम् सिङ्गापुर र सिङगापुरेलीका पूर्वजको बासस्थान: चीन, भारत तथा मलेसियाबाट ल्याइएका थिए । त्यस्तै बेलायत, जापान लगायत विश्वका अन्य धेरै मुलुकका बिराला पनि यस जात्रामा सहभागी थिए । इतिहासको एउटा कालखण्डमा लामो समयसम्म कुनै बखत बेलायती उपनिवेशको रूपमा रहेका बखत अङ्ग्रेजले भित्र्याएका भुवादार बिराला, इतिहासको अर्को कालखण्डमा केही बर्षसम्म जापान अधीनस्थ हुँदाका समयमा जापानीले भित्र्याएका बिरालाका रङबिरङले त्यहाँको बातावरण अत्यन्त रमाइलो र उल्लासमय बनेको थियो । यिनीहरू केही हवाइजहाज, केही पानीजहाज त केही मोटर, बस, रेललगायत स्थल यात्रा गर्दै सिङ्गापुर भित्रिएका थिए । नगरको मध्यभागमा रहेको पुर्भिस स्ट्रिटमा अवस्थित “लायन सिटी किट्टी क्याट म्युजियम” भन्ने नामाकरण गरिएको सङ्ग्रहालयतर्फ लैजाने क्रममा यी बिरालालाई नगर परिक्रमा गराइएको थियो ।
सिङ्गापुरस्थित पशु अधिकार संरक्षण अभियानकी प्रमुख कार्यकर्ता, ४८ वर्षीया जेसिका सिटको प्रयास र आर्थिक लगानीमा स्थापना गरिएको यस सङ्ग्रहालयले मानवको बिराला लगायत अन्य पशुसँगको अन्तरसम्बन्ध र मानव समाजमा पशुको भूमिका र योगदान बारे उजागर गर्नु, पशु अधिकार संरक्षण बारे जनचेतना फैलाइ सामाजिक एकतामा दृढता ल्याउन सहयोग पु¥याउनु नै मुख्य उद्देश्य राखेको बताइएको छ । उक्त सङ्ग्रहालय स्थापना गर्न सिङ्गापुर क्याट वेलफेयर सोसाइटीले सहयोग गरेको थियो ।
सो सङ्ग्रहालयको औपचारिक उद्घाटन कार्यक्रममा सिङ्गापुरका कानुन तथा विदेश मामिलामन्त्री के. सानमुगम् प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साताको ३ दिन शुक्रबारदेखि आइतबारसम्म, अपरान्ह दुई बजेदेखि साँझ नौ बजेसम्म अवलोकनका लागि सर्वसाधारणलाई खुला रहने तीनतले सो सङ्ग्रहालयको ग्यालरीले विश्वका बिराला र यसका प्रजातिसम्बन्धी अध्ययन, अनुसन्धान गर्न सघाउने थुप्रै श्रब्यदृष्य सामाग्री, भिडियो, तथा कम्प्युटर सफ्टवेयरको पनि पर्याप्त मात्रा सङ्कलन गरेको छ ।
आमा, बाबु नचिनिएका वा टुहुरा वा बेवारिसे बिरालालाई उचित संरक्षण दिने भनिएको सो सङ्ग्रहालयले केही प्रजातिका बिराला कुनै इच्छुक पारखीले पाल्ने, हुर्काउने प्रयोजनका लागि लैजान चाहने भए लैजान खुल्ला समेत गरेको छ । यसका लागि प्रजाति हेरी हाललाई प्रति बिरालो ५० देखि ८० सिङ्गापुर डलर शुल्क पनि तोकिएको छ । साथै, आगामी अगष्ट ९ तारेखमा सिङ्गापुरको ५० औँ राष्ट्रिय दिवस (एसजी फिफ्टी) का दिनसम्म म्युजियमले आश्रय दिने ५० वटा बेवारिसे बिरालालाई कुनै न कुनै अभिभावकको जिम्मा लगाइसक्ने लक्ष लिइएको सो मेलाका आयोजकले बताए । यसरी दिन प्रति दिन हिंसा, हत्या, उत्पीडन बढ्दै गइरहेको यस विश्वमा बिरालोप्रति प्रेम रहनु र सङ्ग्रहालय नै स्थापना गर्न सिङ्गापुर अग्रस्थानमा रही विश्वमा प्रशंसाको पात्र बनेको छ । रासस














प्रतिक्रिया