१ कार्तिक २०८३, शनिबार

मनान्गाग्वा जिम्बावेको राष्ट्रपति, विपक्षीले अस्वीकार गरे नतिजा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ साउन । जिम्बावेको निर्वाचन आयोगले राष्ट्रपतीय चुनावमा सत्तारूढ दलका नेता एमर्सन मनान्गाग्वा निर्वाचित भएको जनाएको छ । मनान्गाग्वाले आधाभन्दा बढी मत पाएको उल्लेख गर्दै आयोगले उनी राष्ट्रपतिमा निर्वाचित भएको औपचारिक घोषणा गरेको हो ।

तर विपक्षी गठबन्धनले चुनावी मतपरिणाम स्वीकार्न नसकिने बताएको छ । उनीहरुको जिम्बावेको इतिहासमै धाँधलीपूर्ण निर्वाचन भएकाले मतपरिणाम अस्वीकार गर्ने जनाएका हुन् ।

आयोगका अनुसार जानु पीएफ पार्टीका मनान्गाग्वाले ५० दशमलब ८ प्रतिशत मत ल्याएका हुन् । विपक्षी गठबन्धनका नेल्सन चामिसाले ४४ दशमलब ३ प्रतिशत मत पाएका छन् ।

पराजित उम्मेदवार चामिसाले निर्वाचन ‘प्रमाणित हुन नसक्ने नतिजा घोषणा गरिएको’ बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा चामिसाले ‘जिम्बावेको निर्वाचन आयोगले ठीक र प्रमाणित नतिजा सार्वजनिक गर्नुपर्ने’ जनाएका छन् ।
चामिसाले संवाददातासमक्ष आफूले चुनाव जितेको दाबी गर्दै जानु पीएफ पार्टीले परिणाममा चलखेल गरेको आरोप लगाए । उनले आफ्नो दल नतिजा घोषणाको विरोधमा अदालत जाने बताएका छन् ।

मतपरिणामप्रति आपत्ति जनाउँदै विपक्षी गठबन्धनले प्रदर्शन गरेपछि ती स्थानमा प्रहरी परिचालन गरिएको छ ।
उनको जितप्रति विदेशी अनुगमतकर्ताहरुले समेत मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले विगतको तुलनामा निर्वाचना शान्तिपूर्ण भएको जनाए पनि सत्ताको दुरुपयोग भएको दाबी गरेका छन् । अनुगमनकर्ताहरुले चुनावी नतिजा सार्वजनिक गर्न ढिलाइ गरेकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

राजधानी हरारेका व्यवसायी रोय मुक्वेनाले भने, ‘मनान्गाग्वाले शक्तिको दुरुपयोगले चुनाव जितका हुन् । म चुनावी नतिजाप्रति खुसी छैन ।’ तर कतिपयले भने उनी सही व्यक्ति भएको दाबी गरेका छन् । ‘मलाई लाग्छ उनी सही व्यक्ति हुन् । उनीसँग विगतको अनुभवसमेत छ,’ २९ वर्षीय एडीले भने ।

राष्ट्रपतिमा निर्वाचित भएपछि एमर्सन मनान्गाग्वाले खुसी प्रकट गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले चुनावमा आफूहरू विभाजित भए पनि जिम्बावेका जनताको ‘सपना एउटै’ भएको बताए । उनले सबैलाई ‘मिलेर अगाडि बढ्नुपर्ने भन्दै आग्रह गरेका छन् ।

तर जिम्बावेको निर्वाचन आयोगले चुनाव परिणाम कुनै पनि हिसाबले तलमाथि नभएको बताएको छ । मतपरिणाम विवादसँगै चर्केको हिंसाका कारण बुधबार हरारेमा ६ जनाको ज्यान गइसकेको छ ।

जिम्बावेका अधिनायवादी शासक रोबर्ट मुगाबेको पतनपछि पहिलोपटक गत सोमबार संसदीय निर्वाचन भएको हो । सत्तारूढ जानु–पीएफ पार्टीका दोस्रो दर्जाका नेता मनान्गाग्बा मुगाबेको उत्तराधिकारी बनेका हुन् ।