३० आश्विन २०८३, शुक्रबार

भिजिलान्ते पथमा प्रचण्ड, अझै कतिपटक हार्न मन छ ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

som-khanal

-सोम खनाल / समाचार टिप्पणी

एउटा भनाइ छ, पोखरीको गहिराई नाप्न त्यसमा दुबै खुट्टा नहाल्नु । दुबै खुट्टा हालेर दहमा पस्दा आफै डुबिन्छ, जसरी जातियताको दलदलमा प्रचण्ड नामका पात्र डुबिरहेका छन् । 

देश अहिले संबिधान जन्माउने प्रशव पिडामा छ । संबिधान बर्तमानदेखि सुदूर भबिष्यसम्म देशको मुहार कस्तो हुने भन्ने बिषयसँग जोडिएको छ । नागरिकहरूलाई देशले राम्रो र दिगो संबिधान पाउला कि नपाउला भन्ने चिन्ता छ । प्रचण्डहरूले पहिचानको नाममा अघि सारेका जातिय उत्ताउला अबधारणाले गर्दा संबिधान निर्माणको बिषय अनाबश्यक रूपमा जटिल बनिरहेको छ । जनमतले समर्थन नगरेका जातियता जस्ता नितान्त लहडी र बेतुके बिषयहरूलाई संबिधानमा जबरजस्ती प्रबेश गराउन कुनै तर्क र बहसले पार नचलेर अब प्रचण्डहरू बन्द र हडताल जस्ता अलोकप्रिय उपायतिर उद्यत भएका छन् । बिजेताले तर्क गर्छ, पानी मरूवा भिजिलान्तेले जबरजस्ती गर्छ । फगत १ बर्ष अघि लिइएको ताजा जनमतले सदर नगरेका फोस्रा अबधारणाहरूलाई बन्द र हडतालको माध्यमबाट संबिधानमा घुसाउन खोज्नु प्रचण्डहरूको भिजिलान्ते चरित्र बाहेक अरू केही होइन ।

कुनै बेला आफूलाई संसारकै सर्बहाराको आशाको केन्द्र ठानी बस्ने प्रचण्डको बर्गिय मुखुण्डो त जातियताले उतारिसकेकै थियो । अहिले देशको सबै समथर भुभागलाई एउटा मधेश प्रदेश बनाएर बाँकी भूगोललाई घेराउमा पार्न चाहने, आत्मा भारतमा राखेर नेपालको राजनीति धमिल्याइरहन चाहने केही कथित मधेशी मसिहाहरूसँगको स्वार्थपरक सांठगांठले उनको पोचो राष्ट्रियता पनि उदांगो भएको छ । प्रचण्ड अब न त बर्गिय नेता नै रहे, नत उनमा राष्ट्रियता भन्ने चीज नै बांकी रह्यो । उनलाई प्रचण्ड भनेर चिनाउन उनीसँग अहिले फगत जेल लगाएर उभो कोरिएको जुल्फि र अररा घोप्टे जुंगा मात्र बांकी छन् । करिब ७ बर्ष भित्रमा उनीमा रहेको सम्पूर्ण राजनैतिक पूँजी उनले जातियताको जुवाघरमा उडाइसकेका छन् । त्यसैले प्रचण्ड अब राजनैतिक मानिस रहेनन् । उनी एउटा लगातार हारिरहेको गैरजिम्मेबार जुवाडेमा परिणत भइसके, जसले जुवाको नशामा सामुन्नेमा भेटेजति हरेक चिजलाई दाउमा हान्छ ।

प्रचण्डले अक्षम्य गल्तिका शृंखला शुरू गरेको अहिले मात्र होइन । जतिबेला यी प्रधानमन्त्री थिए, उनलाई सत्ता संचालनमा सन्तुलनका साथ सघाउने एमाले पार्टी उनीसँगै थियो । कबोल गरेर पनि गर्न नसकेका कामवाट एमालेलाई देखाएर पन्छन पाउने सुबिधा थियो उनीसँग, जसलाई उपयोग गरेर सत्ता संचालनको सुझबुझ सिक्दै युद्द उन्मादले तताएको मुलुकलाई बिस्तारै सेलाउन सक्थे । तर, युद्द कालमा गाईको मासु हसुरेर उनले आफूमा तमाम तमगुणहरू कोची कोची भरेका रहेछन् । त्यही तामसले उनलाई सत्ताबाट गलहत्याएर सडकमा उत्तानो पारिदियो । सडकलाई पनि यिनले कहाँ चिने र ? आखिर सडकसँग पनि टांग मुनि पुच्छर हालेर माफी माग्नुपर्यो । कार्यकर्तामा रुवाबासी चलो । दाया चाल र बाया चालका अनेकन नाटकहरूले यिनको ुगौरवशालीु पार्टीलाईकयौं फ्याक हुनबाट बचाउन सकेनन् ।

यी जिम्मेवार राजनैतिक मानिस भैदिएका भए त्यति भइसक्दा कमसेकम यिनमा चेत आउने थियो । राजनीति गर्ने मानिसले गल्ती गर्न सक्छ । तर गल्तीबाट पाठ सिक्छ पनि । प्रचण्डले कहिलै कुनै पाठ सिकेनन् । पहिलो संबिधान सभाको अन्त्यतिर सबै दलहरूको बिचमा सहमति भएर संबिधान बन्ने अबस्था आइसकेको थियो । आफ्नै दलको नेतृत्वमा सरकार भएका बेला संबिधान बनाएर लागु गर्दा माओबादीलाई अथाह ऐतिहासिक लाभ हुने थियो । युद्दकालका सारा तुष र द्वेसलाई जनताले सर्लक्क भुल्ने थिए । तर संधै आफ्नो निजी स्वार्थको लागि मात्र मरिहत्ते गर्ने प्रचण्डलाई माओबादीले पाउने लाभ भन्दा बढी बाबुरामले पाउने सम्भावित जसबाट यति जलन भयो कि, रातारात उनले भइसकेका सहमतिलाई उल्टाउने अक्षम्य गल्ती गरे । दोश्रो चुनावमा जनताले उनीहरूलाई त्यही गल्तीको दण्ड दिएका हुन् ।

अघिल्लो संबिधानसभाबाट संबिधान बनाउन नसक्नु हाम्रो गल्ती थियो, एकपल्टको गल्ती माफ हुन्छ, पटकपटक उही गल्ती दोहोर्यायो भने त्यो अपराध हुन्छ, यसपल्ट दुईतिहाईले भए पनि संबिधान बनाउनु पर्छ भनेर घोषणापत्रमै किटान गर्ने प्रचण्डले चुनावमा हार ब्यहोर्ने बित्तिकै ‘बायुमण्डलिय धांधलीको’ असफल प्रपञ्च रचेर जनताको आशामा नुन छर्किने काम गरे ।

अघिल्लो संबिधानसभा असफल गराएको गल्तीको सजाय जनताले दोस्रो चुनावमा दिएका थिए, तर उनले यसको पनि अपमान गरे । जनताको अभिमतलाई उपहास गरेर उनले जुन अपराध गरिरहेका छन्, त्यसको सजाय उनले हरेक चुनावमा साँवा ब्याजसहित भुक्तान गरिरहनु पर्नेछ । त्यही सजायको डरले केही लोभीपापी दुक्की जुटहरू जम्मा गरेर अहिले उनी जनताको धैर्यतालाई ललकारिरहेका छन् र जनतामाथि जबरजस्ती गरिरहेका छन् ।

देशबासीहरू अनाहकमा हुने बन्द र अडताल जस्ता कुराले वाक्क दिक्क भैसकेका छन् । राजनीतिज्ञले त समाजको सोच कता गइरहेको छ भनेर अन्दाज गर्न सक्दछ । तर कुनै कालखण्डमा जनताको निरासालाई भजाएर दरबार र बिदेशी स्वार्थी तत्वहरूद्वारा प्रायोजित युद्दको सरदार भएकै आधारमा नेता भइखाएका प्रचण्डले समाजको सोच अन्दाज गर्न कसरी सकून ? जनताको मन बुझ्न नसक्ने र सधै उत्ताउला मुद्दा उरालेर देशलाई भड्खालोमा हाल्न उद्यत प्रचण्डलाई जनताले सँधै नेता मानिरहनु पर्छ भन्ने केही छैन । जनताले बन्दको बिरोधमा धीमा आवाजले डराई डराई बोल्दा भिजिलान्ते भइँदैन बरू जनताको आवाजलाई कुल्चेर जबरजस्ती हड्ताल थोपर्नेहरू नै भिजिलान्ते हुन् । जनभावना प्रतिकुल जबरजस्ती देशलाई बन्धक बनाएर आफ्नी दुनो सोझ्याउने सपना एउटा भिजिलान्तेले मात्र देख्न सक्दछ । त्यसैले अहिलेका प्रचण्ड भिजिलान्ते पथमा हिडिरहेका छन् ? प्रचण्डहरूले नबुझेर केही फरक पर्दैन तर जनताको धैर्यताको बाँध सधै बन्द भइरहँदैन। त्यो भत्केका दिन प्रचण्डजस्ता जनमतबिहीन पानी मरूवा भिजिलान्तेहरू उछिट्टिएर राजनीतिको किनारामा पुग्ने निश्चित छ । उनीहरूले जनतालाई जति दु:ख दिन्छन्, त्यो दिन पनि त्यति नै चाँडो आउने छ ।