१ कार्तिक २०८३, शनिबार

लाओसमा १३१ जना बेपत्ता : प्रधानमन्त्री सिसौलिथ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाओस, १० साउन । लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले बाँध भत्कीएर बगाएकामध्ये १३१ जना अझै पनि बेपत्ता भएको बताएका छन् ।

देशको दक्षिणी क्षेत्रमा रहेको हाइड्रो पावरको बाँध भत्कीएर बगाएका वा बेपत्ता भएकामध्ये १३१ जनाको अवस्था अझै थाहा पाउन नसकिएको उनले बुधबार बताए ।

निर्माणाधीन अवस्थामा रहेको छेपिन छे नाम नोय हाइड्रो पावरको बाँध यसै हप्ताको शुरुमा भत्कीएको थियो ।

बाँध भत्कीएपछि सानाम्याक्सी जिल्लाका सात वटा गाउँ प्रभावित भएको र सयौँ विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।

घटनामा परी मृत्यु हुनेको संख्या अहिलेसम्म एकिन नभए पनि लाओसको समाचार संस्थाले २६ जनाको मृत्यु भएको पुष्टी भएको जनाएको छ ।

प्रधानमन्त्री सिसौलिथले विस्थापित भएकाहरूलाई छानासहितको बासस्थानमा व्यवस्थापनको काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने, ‘यस घटनाका कारण घरबारबिहीन हुनेहरूको संख्या कम्तीमा तीन हजार ६० पुगेको छ भने १३१ जना अझै बेपत्ता रहेका छन् ।’

वर्षापछि बाँध भत्कीएर आएको बाढी अझै पनि आइरहेको र अरू पाँचदेखि छ गाउँका बासिन्दा अझै पनि प्रभावित भइरहेको प्रधानमन्त्रीले बताए ।

घटनाबाट पीडितहरूलाई उद्धार तथा राहतका लागि सरकारी अधिकारीहरूलाई अधिकतम परिचालन गरिएको उनले जानकारी दिए ।

कम्बोडियाको सीमा क्षेत्रमा पर्ने लाओसको दक्षिणी क्षेत्रमा रहेको बाँध सोमबार बेलुका भत्कीएको अधिकारीहरूले जनाएका छन् । सिन्ह्वा