२९ आश्विन २०८३, बिहिबार

कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई गभर्नर खतिवडाको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yubraj-khatiwadaपर्सा, २६ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले कृषि क्षेत्रमा लगानी गर्न वाणिज्य बैंकलाई निर्देशन दिनुभएको छ ।

कृषिको व्यावसायिकरणका लागि सरकारले सहुलियत ऋण दिने व्यवस्था गरेको बताउँदै खतिवडाले त्यस्तो निर्देशन दिनुभएको हो ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घको ३९औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले कृषिमा लगानी नगरे बैंकलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिनुभयो ।

कृषि क्षेत्रको विकासका लागि भूमि करार ऐनलगायत धैरै ऐन ल्याउन जरुरी देखिएको खतिवडाको भनाइ थियो ।

राष्ट्र बैंकले ग्राहकको हित संरक्षण गर्न निर्देशिका जारी गरेको भन्दै उहाँले बैंक पनि पारदर्शी बन्ने र अदृश्य सेवा शुल्कको मारमा ग्राहक नपर्ने दाबी गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थाले एउटै ग्राहक एउटै क्षेत्र र एकैखाले व्यवसायभन्दा  विविधता खोजेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । बैंकको ग्राहक बलियो नभए बैंक बलियो नहुने भन्दै यसमा सचेत हुन सबै बैंकरसँग गभर्नर खतिवडाले आग्रह गर्नुभयो ।

बैंक र व्यापारीका बीचमा देखिएको समस्या हल गर्न सबै मिलेर लाग्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले गरी खाने वातावरण निर्माण गरिदिन आग्रह गर्नुभयो ।

उहाँले सरकारी निकायलाई मागी खाने र व्यापारीलाई गरिखानेका सङ्ज्ञा दिँदै गरी खानेलाई मागी खानेले हेप्ने गरेको आरोप लगाउनुभयो । औद्योगिक ऐन, चार वर्षदेखि संसद्मा अल्झिएको भन्दै उपाध्यक्ष प्रधानले औद्योगिक नीति नबन्दा धेरै समस्या भइरहेको बताउनुभयो ।

उहाँले चीन र भारतले गरेको आर्थिक उन्नतिको उदाहरण दिँदै नेपालमा किन गर्न नसकेको ? भनेर कार्यक्रममा सहभागीसँग प्रश्न गर्नुभयो । जलविद्युत्, कृषि र पर्यटन क्षेत्रको विकास गर्न निजी क्षेत्र तयार रहेको उहाँले बताउनुभयो ।

कृषि क्षेत्रको विकासका लागि भूमि करार ऐन जरुरी रहेको भन्दै ऐन भएका खण्डमा खाली जमिनको उपयोग हुने दाबी गर्नुभयो । पछिल्लो समयमा नेपालमा भित्रिरहेको विदेशी लगानीको स्थायित्वका लागि पनि माघ ८ गते संविधान जारी हुनु आवश्यक रहेको उपाध्यक्ष प्रधानको तर्क छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक क्षेत्रको विकासमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।