२१ कार्तिक २०८३, शनिबार

बौद्ध–जोरपाटी सडकको दुरावस्था विरुद्ध सडकमा ओर्लिए स्थानीय

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ असार । बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडकको दुरावस्थाको विरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आवद्ध प्रतिनिधिहरु सडकमा ओर्लिएका छन् ।

नागरिक दबाब अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरुले वर्षौ अघिदेखि सडक जीर्ण भई लाखौं स्थानीयले चरम दुःख कष्ट पाउँदा समेत सरोकारवाला निकाय मूकदर्शक मात्र भएको आरोप लगाए ।

जोरपाटी चोकमा भएको विरोध सभालाई सम्बोधन गर्दै नागरिक दबाब अभियानका संयोजक तथा समाजसेवी दीपकसिंह भण्डारीले बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडक खण्ड राजमार्ग नभई काल मार्गमा परिणत भएको बताए । सडक बनाउन अहिले सम्म कसैले अग्रसरता नदेखाएकाले नागरिक स्तरबाटै दबाब अभियान थालिएको भण्डारीले प्रष्ट पारे ।

अभियानबाट कोही आत्तिनु नपर्ने भन्दै भण्डारीले कही कतैबाट सुनुवाई नभएपछि नागरिक हक प्राप्त गर्न आफूहरु सडकमा ओर्लन बाध्य भएको बताए । अभियानका सहसंयोजक तथा सामाजिक अभियन्ता कुमारराज सुवेदीले एक्काइसौं शताब्दीमा पनि महानगरबासी नरकीय जीवन बिताउन बाध्य हुनु ठूलो बिडम्बना भएको बताए ।

आम नागरिकको सहनशीलतालाई कमजोरीको रुपमा नलिन सुवेदीले सरोकारवाला सबैलाई चेतावनी दिए । सडक निर्माण नभएसम्म अब अभियानले दबाबमूलक कार्यक्रम संचालन गरिरहने सुवेदीले जानकारी दिए । नेपाली कांग्रेसका महासमिति सदस्य विमल ठुकरीले सडककोे अवस्था सुर्धानका लागि निर्वाचित जनप्रतिनिधहिरुले ठोस काम गर्न नसकेको टिप्पणी गरे ।

वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरेले अत्यन्त जीर्ण सडकका कारण स्थानीयको दिनचर्या नै नराम्रोसँग प्रभावित भएको बताए । मानवअधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता होमकान्त चौलागाईले सडकको दुर्गतिका कारण आम मानिसको मौलिक अधिकार नै हनन भइरहेको उदाहरण प्रस्तुत गरे ।

चिकित्सक सुवास प्याकुरेलले असारे भाका मार्फत् व्यङग्य गर्दै राजधानीको केन्द्रका जनता वर्षौ देखि प्रताडित हुनु राष्ट्रिय लज्जाको विषय भएको बताए ।