काठमाडौँ, २५ पुस । आर्थिक अवस्था जीर्ण भई बन्दको मुखमा पुगेको नेसनल ट्रेडिङ लिमिटेडको ऋण रु ९४ करोड पुगेको छ ।
संस्थाको व्यापारिक कारोबार विगत छ÷सात वर्षदेखि ओरालो लाग्दै जाँदा संस्थान बन्द गर्ने कि टिकाइराख्ने भन्ने द्विविधा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई परेको छ ।
संस्थानका आर्थिक सङ्कट समाधानका विषयमा आज यहाँ आयोजित छलफलमा संस्थासँग चल पुँजी अभाव हँुदै गएको र विगतदेखि गर्दै आएको व्यापार व्यवसायमा समेत गतिरोध आएकाले संस्थानको भविष्यमाथि सङ्कट आएको जानकारी दिइयो ।
वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले चालु आवको बजेट ल्याउनुपूर्व अर्थमन्त्रीसित आफूले संस्थानलाई बन्द नगर्न आग्रह गरेका कारणले संस्थान बन्द नभएको चर्चा गर्दै संस्थानको औचित्य स्थापना गर्नुपर्छ भन्नुभयो ।
उहाँले संस्थानको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छिट्टै नियुक्ति गरिने जानकारी दिँदै आगामी दिनमा चिनी, पेट्रोलभन्दा अन्य व्यवसाय गर्न संस्थानलाई आग्रह गर्नुभयो ।
संस्थानका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले संस्थानको ऋण रु ९४ करोड पुगेको जानकारी दिँदै चीनसित निरन्तर रूपमा गरिँदै आइरहेको व्यापार विगत पाँचवर्षदेखि शून्यमा रहेको बताउनुभयो ।
उहाँले सार्वजानिक खरिद ऐन, नियमावली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मदिराजन्य करमुक्त पसल बन्द आदि कारणले संस्थानलाई व्यापारमा घाटा पुगेको जानकारी दिनुभयो ।
हाल संस्थानमा विभिन्न तहका ३१४ जना कर्मचारी कार्यरत रहेका छन् । काठमाडाँै, विराटनगर, वीरगन्ज, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढीमा कार्यालय रहेका छन् । यस्ता कार्यालयमा ८० हजार मेट्रिकटन क्षमताको गोदामसमेत रहेको छ ।
कार्यक्रममा संस्थानका वरिष्ठ अधिकृत श्यामकुमार श्रेष्ठले ग्यास प्लान्ट स्थापना, रासायनिक मलको कारोबार, सिमेन्ट व्यापारमा वृद्धि, देशका विभिन्न स्थानमा पेट्रोलपम्प स्थापना गर्न लागिएको जानकारी दिनुभयो । रासस













प्रतिक्रिया