काठमाडौँ, २५ पुस । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई बरवाद हुन नदिने अवस्था सिर्जना गर्न कर्मचारीसँग अनुरोध गर्नुभएको छ ।
उहाँले शुक्रबार बालुवाटारमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वार्षिक प्रतिवेदन बुझ्दै भन्नुभयो, ‘मुलुक बरवाद हुन नदिनुस्, बचाउनुहोस् । अनियमितता देखिए कारबाही गर्नुस् । मिलेर खाने अवस्था सिर्जना हुन नदिनुहोस् ।’
प्रधानमन्त्री कोइरालाले आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि सुशासन भन्दै आएपनि भ्रष्टाचार झन बढेकोप्रति चिन्ता व्यक्त गर्दै कर्मचारीको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउनुभयो ।
उहाँले कर्मचारीबाट समेत भ्रष्टाचार रोक्न सहयोग नपाएको बरु कतिपय अवस्थामा भ्रष्टाचारमा साथ दिएको गुनासो गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले मुलुक विकासको पथमा लम्किन थालेको बताउँदै भन्नुभयो, ‘विकासको बाटो खुलेको छ । लगानीकर्ताहरु आइरहेका छन् ।
फास्टट्र्याक, अन्तर्राष्ट्रिय विमानस्थल, होटल, जलविद्युत् सबै क्षेत्रमा लगानीकर्ता आएका छन् । उनीहरुको समस्या बुझ्नुप¥यो । सर्वोत्तम सेवा दिनुप¥यो । कर्मचारी असल पनि हुनुहुन्छ तर भ्रष्टहरु नै पुरस्कृत भएका गुनासो आउँछन् ।’
प्रधानमन्त्री कोइरालाले कर्मचारीलाई पार्टी–पार्टीमा विभक्त भएर काम गर्ने अवस्थाको अन्त गर्नुपर्ने आवश्यकता पनि आँैल्याउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सार्वजनिक खरिद अनुगमन कार्यालयले गर्ने अनुगमनमा पनि उच्च नैतिक आचरण भएका सक्षम कर्मचारी राख्न सुझाव दिनुभयो ।
कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेल र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव टङ्कमणि शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव वसन्त गौतमलगायतका पदाधिकारीको पनि उपस्थिति थियो ।















प्रतिक्रिया