
खोलेसिमल, चितवन, १२ असार । चितवनको कालिका नगरपालिका स्थित शक्तिखोर क्षेत्रमा निर्माण हुने औद्योगिक क्षेत्रको निर्माणका लागि नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताएका छन् ।
देशकै गौरवको आयोजना शक्तिखोरमा बन्न लागेकोमा खुशी व्यक्त गर्दै मेयर श्रेष्ठले औद्योगिक क्षेत्रका लागि चाहिने हरेक प्रकारको सहयोग गर्न नगरपालिका प्रतिवद्ध रहेको समेत उनले बताए ।
चितवन उद्योग संघको आयोजनामा कालिका इकाइ समितिको प्रारम्भिक भेलाको अवसरमा मंगलबार आयोजित कार्यक्रमका मेयर श्रेष्ठले नगरवासीहरुले पनि सो क्षेत्रमा उद्योग खोल्न र लगानी गर्न उनले अनुरोध गरे । उद्योगबाट मात्र देश आत्मनिर्भर हुने भन्दै मेयर श्रेष्ठले समृद्धि मुलुक बनाउन सबैले योगदान गर्नुपर्ने समेत बताए ।
औद्योगिक क्षेत्रको डिपीआर सम्पन्न–अध्यक्ष दुवाडी
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले शक्तिखोरमा स्थापना हुन लागेको औद्योगिक क्षेत्रको डिपीआर तयार भइसकेको बताएका छन् ।
६ महिनाको समयमा तयार भएको डिपीआर केही दिनमा औद्योगिक व्यवस्थापन लिमिटेडलाई हस्तान्तरण हुने समेत उनले बताए । संघका अध्यक्ष दुवाडीले प्रारम्भिक वातावरण मूल्याङ्कन (आइ.इ.इ.) को काम समेत सुरु हुने प्रक्रिया रहेको बताएका छन् ।
आइ.इ.इ. को काम सम्पन्न भएपछि सो क्षेत्रको नक्साङ्कनको काम पनि सुरु हुने भएकोले करिव १ वर्षमा सो क्षेत्रको पहिलो ब्लकमा उद्योगको लागि आवश्यक संरचना निर्माण सुरु भइसक्ने समेत उनले बताए । १ हजार ७ सय ४१ बिगाहा क्षेत्र मध्ये केही धार्मिक क्षेत्र र सार्वजनिक क्षेत्र छाडेर बाँकी क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण हुने समेत उनले बताए ।
कालिका वडा नं. ६ खोलेसिमलमा आयोजित कालिका नगरभित्रका उद्योगीहरुको भेलामा बोल्ने वक्ताहरुले औद्योगिक क्षेत्रको निर्माणमा सबैको साथ सहयोग रहने भन्दै स्थानीय उद्योगीहरुले समेत सो क्षेत्रमा उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।












प्रतिक्रिया