२१ कार्तिक २०८३, शनिबार

सहकारी र राज्य मिलेर समृद्धिको अभियान सफल पार्नुपर्छ : मन्त्री गुरुङ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बागलुङ, १० असार । प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समृद्धिको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सहकारी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आइतबार बागलुङमा आयोजना गरेको बैंक र सदस्य संघ संस्थाहरुबीचको अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा प्रदेश सरकारले पर्यटन, उर्जा, कृषि र उद्योगलाई प्राथमिकीकरण गरेर विकासमा जुट्ने योजना बनाएको जानकारी गराउदै उनले त्यसका लागि सहकारी क्षेत्रमा रहेको श्रम, सीप र पूँजिलाई परिचालन गर्न आव्हान गरे ।

समाजवाद उन्मुख अर्थतन्त्रका लागि स्थानीय स्रोतहरुको अधिकतम परिचालन आवश्यक रहेको र त्यसका लागि सहकारी नै उत्तम विकल्प हुने उनले बताए । सन २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्र्याउने, प्रतिव्यक्ति आय २ हजार ५ सय डलर बनाउने लक्ष्यका साथ प्रदेश सरकार विकास अभियानमा जुटेको भन्दै उनले त्यसका लागि सहकारी र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा संघीय संसदका सदस्य डा.सूर्य पाठकले सहकारी, निजी र राज्य मिलेर गरिव तथा विपन्न जनताको आर्थिक सामाजिक अवस्था सुधारका लागि सक्रिय भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, केन्द्रीय सूचना तथा सञ्चार सहकारी संघका लेखा सदस्य खीमबहादुर कार्की, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, उपाध्यक्ष अशोकगोविन्द राजभण्डारी, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवर, स्वास्थ्य सहकारी संघका अध्यक्ष सिता शर्मा, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषकान्त रेग्मी, रिहागाद बहुउद्देश्यीय सहकारी संस्था म्याग्दीका अध्यक्ष सुनिता मल्ल, पुरस्कृत संस्थाको तर्फबाट अभियान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवी शर्मा लगायतले बोलेका थिए ।

बैंकको बागलुङ शाखामा आर्थिक वर्ष २०७३÷०७४ मा उत्कृष्ट कार्य गर्ने सिवाइसी वचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने अभियान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । बागलुङ, पर्वत, म्याग्दीका १ सय जना सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी बैंक र सदस्य संघ संस्थाहरुबीच सहकार्य, सहकारी अभियानलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गरिएको थियो ।

२०६५ सालमा स्थापना भएको सहकारी बैंकको बागलुङ शाखामा सो क्षेत्रका २ सय ४५ सहकारी संघ संस्था शेयर सदस्य, २ करोड ८० लाख शेयर रकम, २० करोड निक्षेप र १२ करोड लगानी रहेको शाखा प्रमुख सन्तोष घिमिरेले जानकारी दिए ।