२९ आश्विन २०८३, बिहिबार

नलसिंह गाड जलविद्युत् आयोजनाले जग्गा अधिकरण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nalsing-gadeजाजरकोट, २४ पुस । नलसिंह गाड जलविद्युत् आयोजनाले जग्गा अधिकरण कार्य सुरु गरेको छ ।

आयोजना विकास समितिले पहिलो चरणमा शिविर र पावर हाउस क्षेत्रको जग्गा अधिकरण गर्न लागेको हो ।

विसं २०७० माघमा सरकारको सचिवस्तरको निर्णयअनुसार आयोजनाले जग्गा अधिकरणका लागि मुआब्जा वितरणबारे साताअघि सूचना प्रकाशन गरेर काम थालेको छ ।

आयोजनाले शिविर तथा पावर हाउसका लागि विद्यालय, गौचरण, नर्सरी, जङ्गल, सडक, चौतारी र स्थानीय बासिन्दाको गरी ५३१ रोपनी जग्गा अधिकरण गर्न लागेको अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिनुभयो ।

जसमध्ये त्रिभुवन उच्चमाध्यमिक विद्यालय खगेनकोट दल्लीको ११४ रोपनी र स्थानीय बासिन्दाको २५० रोपनी जग्गा अधिकरण हुनेछ । उक्त जग्गाको मुआब्जाका लागि चालु आवमा रु एक करोड २५ लाख छुट्याएको अध्यक्ष शाहीले बताउनुभयो ।

आयोजनाले जग्गा अधिकरण, भौतिक पूर्वाधार, डिपिआरलगायत कार्य अघि बढाएको जनाएको छ । चालु आवमा आयोजनाको पहँुच मार्ग निर्माणका लागि रु १४ करोड र कार्यालय भवनका लागि रु छ करोडको टेन्डर आह्वान भइसकेको छ ।

त्यस्तै आयोजनाको डिपिआर, प्राविधिक कार्य र अन्य भौतिक व्यवस्थापनका लागि रु चार करोड बजेट विनियोजन भएको छ । चालु आवमै विस्तृत सर्भेक्षण र आयोजनाको कन्स्ट्रक्सन पावर उत्पादनको विस्तृत सर्भेक्षणलगायत कार्य सञ्चालन हुने शाहीले बताउनुभयो ।

चार सय ५० मेघावाट विद्युत् उत्पादन क्षमताको यो आयोजना उच्च प्राथमिकता–९ पी वानमा परेपछि भौतिक तथा प्राविधिक कार्य सुरु भएको हो । सरकारले बुढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ ।

आयोजनाको निर्माण सन् २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको शाहीले बताउनुभयो । आयोजना निर्माणमा रु एक खर्बको लागत खर्च हुने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि एडिबीलगायतका दातृ निकाय र देशभित्रकै वित्तीय सङ्घसंस्था पनि इच्छुक रहेको शााहीले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न भएमा आयोजना मध्यपश्चिमकै ऊर्जाको प्रमुख स्रोत बन्नेछ । यो आयोजना वातावरण मैत्री, ड्याम कम पुरिने, जलाशयको आयु दिगो रहने, खेतीयोग्य जमिनको न्यून क्षति हुने, विस्थापित कम हुने र भौगर्भिक अवस्था अत्यन्त राम्रो मानिएको छ । आयोजनास्थल जाजरकोट सदरमुकामबाट २० कोस पूर्वमा रहेको छ ।

यो आयोजना सक्ला र खगेनकोट गाविसमा आयोजनाको पहिचान भएको २७ वर्षपछि उक्त मेघा प्रोजेक्टको निर्माण प्रक्रिया अघि बढेको हो । रासस