काठमाडौं, ७ असार । पाँच वर्षअघि बाढीले क्षतिग्रस्त दार्चुला सदरमुकाम खलंगाका बासिन्दा असार लागेसँगै त्रसित बनेका छन् । यतिवेला भने भारतमा खसेको पहिरोले त्रसित बनाएको छ ।
महाकालीको पूर्वी किनारमा तटबन्ध निर्माण गरिएको भए पनि भारतको खोतिल क्षेत्रमा गएको सुक्खा पहिरोका कारण त्रास रहेको स्थानीय बासिन्दा बताउँछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
असार लागेसँगै ढुक्कसँग निदाउन नसक्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । ‘पानी पर्न थाल्यो कि राति उठेर महाकालीतिर हेर्नैपर्छ,’ महाकाली नगरपालिका–४ का मदनसिंह धामीले भने ।
०७० मा आएको बाढीले खलंंगालाई तहसनहस पारेको थियो । त्यसपछि निर्माण थालिएको तटबन्धनको ८० प्रतिशत काम सकिएको जनाएको छ । जसमा बाँगाबगड लास्कु खोलादेखि नमस्कारसम्म साढे चार किलोमिटर लामो तटबन्धन निर्माण भएको छ । यो नौ मिटर अग्लो छ ।
पहिरो हटाउन पटक–पटक छलफल भए पनि अहिलेसम्म हटाइएको छैन । स्थानीयस्तरमा पाँचपटक वार्ता र छलफल भए पनि भारतले वास्ता गरेको छैन । ‘कहिले काम गर्न खर्च छैन भन्ने त कहिले महाकाली नदी किनारको पहिरो हटाए माथिबाट थप पहिरो आएर थप क्षति गर्ने हो भन्ने तर्क गर्छन्,’ महाकाली नदी नियन्त्रण आयोजनाका एक प्राविधिकले भने ।
गत वर्ष दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र भारतको पिथौरागढका डिएम एस. रविशंकरको टोलीबीच भएको छलफलमा दुईपक्षीय अध्ययन गरेर पहिरो हटाउने सहमति भएको थियो । स्थानीयस्तरमा पनि पहिरो हटाउन पलह गरिएको थियो । तर, अनेक बहाना बनाएर वास्ता गरेको छैन ।
स्थानीयस्तरबाट कोसिस गर्दा भारतीय पक्षले बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई गुहारेको छ । ‘गृह मन्त्रालयमा पूर्ण व्यहोरा जानकारी गराएका छौँ । कूटनीतिक पहल गर्न अनुरोध गरेका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भने ।














प्रतिक्रिया