१३ कार्तिक २०८३, शुक्रबार

वनस्थलीमा गुटको भेला, शीर्ष नेताहरूलाई मिल्न दवाव

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरूले आफ्नै खेमाका नेतालाई एकताबद्ध भएर अघि बढ्न दबाब दिएका छन् ।

राजधानीको वनस्थलीमा आइतबार भएको कांग्रेस संस्थापनइतर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको भेलामा उपलब्ध जिल्ला सभापतिहरूले पार्टीले बेहोरिरहेको वर्तमान संकटको अवस्थामा एकताबद्ध रूपमा अघि बढ्न आफ्नै खेमाका नेतालाई दबाब दिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

उनीहरूले निर्वाचनपछि पार्टी झनै कमजोर भएको र प्रतिपक्षमा रहँदाको भूमिकासमेत खस्किएको भन्दै जिम्मेवार बन्न आफ्नै नेतृत्वलाई सुझाए ।
कांग्रेस नेता दीपक गिरीले पार्टीले भोगिरहेको वर्तमान अवस्थाको सामना एक भएर नै गर्नुपर्ने भएकाले जिल्ला सभापतिको भेलाले पार्टीभित्रको आन्तरिक एकताका पक्षमा सन्देश दिन नेतृत्वलाई सुझाएको बताए ।

‘पार्टी कमजोर बनेको अवस्थामा एकताको सन्देश दिएर अघि बढ्नुपर्छ भन्ने सभापतिहरूको राय हो । बैठकमा त्यहीअनुसार अघि बढ्न धेरैको सुझाव आएको छ,’ नेता गिरीले राजधानीसँग भने । उ

नले बैठकमा सभापतिहरूले निर्वाचनका बेला केन्द्रले जिल्ला सभापतिहरूको अधिकार खोसेकोप्रति गुनासो पोखेको बताए ।बैठकमा सहभागी नेतृ सरिता प्रसाईंले हेटौंडामा हुने सभापतिहरूको भेलामा कसरी प्रस्तुत हुने भन्ने विषयमा उपलब्ध जिल्ला सभापतिहरूको राय लिएको बताइन् ।

‘भेलामा कसरी प्रस्तुत हुने, केके कुरा राख्ने भन्ने कुरा भयो । जिल्ला सभापतिहरूले समेत आफ्नो राय राख्नुभएको छ । पार्टीलाई एकताबद्ध भएको सन्देश दिनुपर्छ भन्ने धेरैको राय आएको छ,’ नेतृ प्रसाईंले भनिन् ।

नुवाकोट कांग्रेसका सभापति जगदीशनरसिंह केसीले विगतमा भएको कमजोरीका विषयलाई सुधार गर्दै एकताबद्ध भएको सन्देश भेलामार्फत दिनुपर्ने आफूले धारणा राखेको बताए ।

‘विगतमा कहाँ कसको कमजोरी भयो, को चुक्यो भन्ने विश्लेषण गरी आगामी दिनमा एकताबद्ध भएर वर्तमान संकटको सामना गर्नुपर्छ भन्ने विषयमा मैले आफ्नो धारणा राखें,’ वनस्थली बैठकमा सहभागी नुवाकोट सभापति केसीले भने ।

उनले हेटौंडा भेलामा निर्वाचनको परिणाम, विगतमा सरकारमा रहँदा नेतृत्वबाट भएका कमजोरी, राजदूत प्रकरण, प्रधानन्यायाधीश प्रकरण र प्रहरी महानिरीक्षक प्रकरणमा पार्टी कसरी चुक्यो भन्ने विषयमा जिल्ला सभापतिहरूले नेतृत्वको धारणा माग गर्नेसमेत बताए ।

तर, भेलामा नबोलाइएका भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले भने हेटौंडा भेलामा जिल्ला सभापतिहरू गुट उपगुट भन्दा पार्टी सुधारका पक्षमा आवाज उठाउने जानकारी दिए ।

‘गुट उपगुटका कारण पार्टीले झनै संकट बेहोर्नुपरेको छ । हामी गुट उपगुटतिर जादैनौं । कसले कहाँ के भेला वा बैठक राख्यो थाहा छैन । तर, जिल्ला सभापति भेलामा सबै सभापतिहरू एकताबद्ध भएर जानेछौं,’ थापाले भने ।

उनले सभापति भेलाले पार्टी नेतृत्वमा नै नयाँ सन्देश भने दिने जानकारी दिए । पौडेल—सिटौला पक्षीय नेतासहित उपलब्ध जिल्ला सभापतिको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा.रामशरण महत, डा. मीनेन्द्र रिजाल, गगन थापासहित राजधानीमा उपलब्ध जिल्ला सभापतिहरू सहभागी थिए ।

यसअघि शनिबार महामन्त्री कोइरालाले समेत आफू निकटका नेताहरूलाई टोखास्थित आफ्नै निवासमा डाकेर सभापति भेलामा कसरी प्रस्तुत हुने भन्नेबारे चासो राखेका थिए ।