काठमाडौं, २ असार । २००३ सालमा प्युठानमा जन्मिएका मोहन वैद्य किरणले विद्यालय तहको शिक्षा गृहजिल्लामै पूरा गरे । त्यसपछि उनी उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पस झरे ।
दाङमा क्याम्पस पढ्दापढ्दै साथीहरूकै प्रभाव र दाङका सामन्त जमिन्दारको अत्याचार सहन नसकी समाज परिवर्तनका लागि कम्युनिस्ट विद्यार्थी राजनीतिमा लागे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
०२१ सालमा कम्युनिस्ट पार्टीको सदस्य लिएका वैद्य चौथो महाधिवेशनमा केन्द्रीय सदस्य हुँदै ०४० सालमा नेकपा मशालका महासचिव भए । ०४५ सालमा उपत्यकाको सेक्टर कान्डपछि नैतिकताका आधारमा महासचिवबाट राजीनामा दिए । उनको पार्टी पटक–पटकको विभाजनपछि ०५२ सालमा माओवादी जनयुद्धमा सहभागी भयो ।
वैद्य भारतीय जेलमै हुँदा माओवादी १० वर्षे जनयुद्धलाई स्थगित गर्दै शान्ति प्रक्रियामा आयो । तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले क्रान्तिलाई धोका दिँदै पार्टीलाई संसदीय अभ्यासमा फसाएको भन्दै वैद्यले ०६९ सालमा आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरे । सो पार्टी अहिले नेकपा क्रान्तिकारी माओवादी बनेको छ ।
वैद्यले महासचिवका रूपमा नेतृत्व गर्दै आएका छन् । ५४ वर्षदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय वैद्यले राजनीतिक दलका धेरै नेतासँग सहकार्य गरे भने कतिपय नेतालाई नजिकबाट चिन्ने मौकासमेत पाए । आफ्ना कुरालाई निर्धक्क र सटिक रूपमा राख्न सक्ने नेताको परिचय बनाएका वैद्यका नजरमा विभिन्न दलका १४ शीर्ष नेता यस्ता छन् ।
केपी ओली : सत्तामा हुँदा आफूलाई महाराजा ठान्छन्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली कुनै काममा लागेपछि दृढतापूर्वक खटिनुहुन्छ । आफ्ना कुरा जोडदार रूपमा राख्ने र खरो रूपमा लानुहुन्छ । वैचारिक रूपमा उहाँको विचार हामीलाई मन पर्ने कुरा पनि भएन । उहाँ सरकारमा हुँदा एक प्रकारले दम्भ चढेको जस्तो लाग्छ । बाहिर दुनियाँमा अरू कोही पनि छैन, मै हुँ भन्ने खालको स्वभाव उहाँमा देखिन्छ । आफूलाई राजा–महाराजाजस्तो ठान्नुहुन्छ । त्यो खालको दम्भ नेतामा हुन जरुरी छैन ।
शेरबहादुर देउवा : आफ्ना कुरा हाकाहाकी राख्छन्
वैचारिक रूपमा भन्नुपर्दा कांग्रेस सभापति शेरबहादुर देउवाको विचार र हाम्रो विचार मिल्ने कुरा भएन । कुराकानी गर्दा देउवाजी हाकाहाकी गर्नु हुन्छ । कुनै पनि कुरा लुकाउनु हुन्न, फ्याट्ट भन्नुहुन्छ ।
प्रचण्ड : गलत कुरालाई ठीक हो भनेर कन्भिन्स गर्न सक्ने
प्रचण्डले वैचारिक रूपमा गलत बाटो समाउनुभयो । एक किसिमले संसद्वादी कित्तातिर जानुभयो । उहाँमा मान्छेलाई कन्भिन्स गर्न सक्ने क्षमता छ । कन्भिन्स पनि दुई खालका हुन्छन्, उहाँसँग मान्छेलाई सम्मोहित गर्ने क्षमता छ । जुन कुरामा पनि कन्भिन्स गर्न सक्ने क्या ! सही र गलत दुवै कुरालाई कन्भिन्स गर्न सक्ने । उहाँमा अलिअलि जादुगरीको जस्तो झझल्को पनि आउँछ । उहाँले आश्चर्य भन्नुहुन्छ, चमत्कार भन्नुहुन्छ, यस्ता शब्द हुन्छन्, जसले गर्दा भएको यथार्थभन्दा पनि विषयवस्तुलाई अर्कै ढंगले भन्न खोजेको जस्तो भान पार्न सक्नुहुन्छ । क्रान्तिका लागि भए ठीकै पनि हुन्थ्यो । गलत ठाउँमा भए दिग्भ्रम हो । यस्तो कला पोजेटिभ भए राम्रो हुन्छ, निगेटिभ भए खराब हुन्छ । पहिला ठीक बाटोमा लाग्नुभएको थियो । ठीकै थियो, अहिले नेगेटिभतिर जानुभयो, त्यस्तो कलाको काम छैन ।
मोहनविक्रम सिंह : क्रान्तिकारी शक्तिलाई ठोक्ने
नेपाली कम्युनिस्ट आन्दोलनलाई धेरै पुराना नेताले प्रतिक्रियावादी सत्तालाई समर्पण गरे । तर, मोहनविक्रम सिंह पुरानो कम्युनिस्ट नेता भए पनि त्यो समर्पण कहिल्यै गर्नुभएन । आफूलाई जोगाएर ल्याउनुभयो । राजनीतिक रूपमा त्यो सकारात्मक पाटो हो । पछिल्ला कालखण्डमा संसद्वादी झुकाउ उहाँमा देखिन्छ ।
महोनविक्रमजीमा क्रान्तिकारीहरूलाई जहिले पनि ठोक्ने र अवसरवादीसँग मिल्ने विशेषता देखिए । इतिहास हेर्दा जहिल्यै पनि क्रान्तिकारीलाई ठोक्ने गरेकै देखिन्छ । झापा विद्रोहमा झापा विद्रोहीलाई ठोक्नुभयो । जनयुद्धका वेलामा जनयुद्धलाई नै ठोकेर विरोध गर्नुभयो । पञ्चायतमा कांग्रेससँग मिलेर विरोध गरेको भए पनि हुन्थ्यो नि । तर, पञ्चायतकालमा कांग्रेसलाई पनि ठोक्नुभयो ।














प्रतिक्रिया