२९ आश्विन २०८३, बिहिबार

बाबुरामले एकताको प्रस्ताव ल्याए: वैद्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan-Baidhya

लक्ष्मी काफ्ले

विर्तामोड । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादीका नेता डा. बाबुराम भट्टराईले आफूसँग एकता गर्न आह्वान गरेको खुलासा गरेका छन् ।

राष्ट्रिय युवा जनस्वयम् सेवकको झापा जिल्ला सम्मेलन उद्घाटन गर्न विर्तामोड पुगेका वैद्यले बाबुरामले एउटै पार्टीमा रहने, त्यो पनि नभए कार्यगत एकता गर्न आग्रह गरेको खुलासा गरे । अध्यक्ष पुष्पकमल दाहालसँग चिढिएका भट्टराई चीनबाट फर्कनसाथ वैद्यलाई भेट्न पुगेका थिए ।

यता, एमाओवादी अध्यक्ष दाहालले गरेको एकता आव्हानलाई आफूले सकारात्मक रुपमा लिएका वैद्यले बताए । अझै पनि २ पार्टीबीच बेमेल रहेको बताउँदै उनले भने – ‘मेल हुनका लागि छलफल हुनै बाँकी छ ।’

आफूहरु एकताको पक्षमा रहेको वैद्यले भने – ‘हाम्रो केन्द्रीय समितिको बैठकमा सच्चा कम्यूनिष्टहरु एकताबद्ध हुने निर्णय भएको छ । एकता अहिलेको आवश्यकता पनि हो । सच्चा कम्यूनिष्टहरु एकताबद्ध हुनैपर्छ ।’

अध्यक्ष वैद्यले सबैलाई समेटेर अगाडि नबढ्ने हो भने दोस्रो संविधानसभामार्फत संविधान कुनैपनि हालतमा बन्न नसक्ने पनि बताए ।

उनले भने – ‘यतिबेला अन्य दलहरुसँग भएको सहमति तोडिँदै गएको छ । नयाँ राष्ट्रिय राजनीतिक सहमति गरौं भनेर हामी बारम्बार भनिरहेका छौं ।’

माओवादीले फेरि पनि संघर्ष गर्नुपर्ने आवश्यकता रहेको वैद्यले बताए । उनले नेकपा माओवादीको राष्ट्रिय सम्मेलन असारको दोस्रो साता गर्ने जानकारीसमेत दिए ।

अध्यक्ष वैद्यले १० वर्षसम्म संघर्ष गर्दै आएको पार्टीलाई पाखा लगाउन खोजेको आरोप लगाए । आफूले राजनीतिक सहमति र छलफल गरेर अघि बढौं भन्दा पनि अन्य दलले बेवास्ता गरेको उनले आरोप लगाए ।

दुलाहा र दुलहीबिना विवाह असम्भव हुने उदाहरण देखाउँदै वैद्यले एमाओवादी र माओवादीबिना संविधान कुनै पनि हालतमा बन्न नसक्ने दावी गरे ।

संसदीय पद्धतिको विषयमा बोल्दै वैद्यले भने – ‘संसदीय पद्धतिले केही गर्न सकेको छैन । हामीले किन मान्नुपर्यो त्यो पुरानो पद्धति ? नयाँ पद्धतिमा जाऔं न भन्दा हाम्रो कुरा सुन्दैनन् ।’ आफूहरु संविधानसभामा जानेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको स्वीकार्दै वैद्यले २६ सिट दिन्छु भनी लोभ्याउनु अपमान गरेको जिकिर गरे ।

प्रधानमन्त्रीले २६ सिटको लोभ देखाएर संसदमा बोलाउनुलाई वैद्यले ‘अराजनीतिक चिन्तन’ को संज्ञा दिए ।

वैद्यले नेकपा माओवादीलाई पाखा लगाइयो भने कुनै पनि एजेण्डा पारित हुन नदिने चेतावनी दिए । उनले भने – ‘हाम्रो अन्तिम विकल्प आन्दोलन नै हुनेछ ।’