
काठमाडौँ, ११ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउन निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा महासंघले गरेको रमन एफक्यान एक्सिलेन्स अवार्डलाई सम्बोधन गर्दै मन्त्री महासेठले नीति तथा कार्यक्रम भौतिक पूर्वाधारको क्षेत्रमा बढी केन्द्रीत रहेकाले त्यसलाई सफल पार्न निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
निर्माण व्यवसायीका समस्या आफूले राम्ररी बुझेको बताउँदै मन्त्री महासेठले सरकारसँग सहकार्य गरी अघि बढ्न व्यवसायीहरुलाई आग्रह गरे । विगतमा सरकार र व्यवसायीबाट जे–जे कमजोरी भएपनि त्यसलाई त्याग्दै राष्ट्रवादी सोच सहित सबै विकासमा होमिनुको विकल्प नभएको मन्त्री महासेठको भनाइ थियो । नेपाल बनाउने नेपालीले नै हो भन्दै मन्त्री महासेठले गुणस्तर र समयसीमालाई उच्च प्राथमिकता दिँदै काम गर्न व्यवसायीहरुलाई निर्देशन दिए ।
निर्माण परियोजनाको कमी कमजोरीमा निर्माण व्यवसायीलाई मात्र दोष लगाउने प्रवृत्ति गलत भएको मन्त्री महासेठले बताए । कार्यक्रममा मन्त्री महासेठले उत्कृष्ट कार्य गर्ने विभिन्न श्रेणीका निर्माण व्यवसायीहरुलाई रमन एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरे । जस अन्र्तगत ए क्लासतर्फ हिमडुङ एण्ड थोकर कन्स्ट्रक्शन प्राइभेट लिमिटेडले गोल्ड अवार्ड जित्यो भने सूर्य कन्स्ट्रक्शन प्राइभेट लिमिटेडले सिल्भर र ए एण्ड के कन्स्ट्रक्शन प्राइभेट लिमिटेडले ब्रोन्ज अवार्ड हात पार्यो ।
बी क्लासतर्फ आश्रय निर्माण सेवाले गोल्ड अवार्ड जित्दा शिव शक्ति कम्पनिले सिल्भर तथा के.एम इन्जिनियर्स बिल्डर्सले ब्रोन्ज अवार्ड जित्यो । डि क्लासतर्फ उमा एण्ड कम्पनी, आरती कम्पनी र आर आर कम्पनीले क्रमशः गोल्ड, सिल्भर तथा ब्रोन्ज अवार्ड जितेका थिए । त्यस्तै क्षेत्रीय निर्माण व्यवसायी संघमा पूर्वाञ्चलले गोल्ड अवार्ड हात पारेको छ ।
हिमाली, पहाडी तथा तराईका उत्कृष्ट जिल्ला निर्माण व्यवसायी संघतर्फ क्रमशः जुम्ला, तनुहँ र चितवनले गोल्ड अवार्ड जितेका छन् । विदेशमा उत्कृष्ट काम गर्ने कम्पनीतर्फ कालिका कन्स्ट्रक्शनले अवार्ड जितेको छ ।
नेपालको निर्माण जगतमा विशिष्ट योगदान दिने वरिष्ठ निर्माण व्यवसायी राधाकृष्ण शर्मालाई ग्लोरी अवार्ड प्रदान गरियो । पायनियर इन्जिनियर अवार्ड प्राध्यापक डाक्टर जीवराज पोख्रेललाई दिइयो भने उत्कृष्ट महिला निर्माण व्यवसायीको उपाधि मोहनकुमारी कालिकोटेले जितिन् । बेस्ट कन्सल्टिङ कम्पनी अफ द इयरको उपाधि मल्टि डिसिप्लिन्यारी ललितपुरले हात पारेको छ ।
कार्यक्रममा महासंघ सचिवालयकी उत्कृष्ट कर्मचारीको रुपमा पार्वती कोइरालालाई सम्मान गरिएको थियो भने निर्माण व्यवसायीका सन्ततिहरु मध्येबाट इन्जिनियरिङ विषयमा उत्कृष्ट अंक ल्याउने निकिता ओझालाई सम्मान गरियो ।















प्रतिक्रिया